विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिको कार्यकक्षको दराजबाट दुई थान खुकुरी फेला परेपछि प्रहरी अनुसन्धानमा जुटेको छ।
खुकुरी भेटिएको विषयलाई लिएर विद्यार्थीहरूबीच विवाद र होहल्ला भएपछि प्रहरीले घटनास्थलमा पुगेर छानबिन थालेको हो। प्रहरी निरीक्षक अप्रिल चापागाईंको नेतृत्वमा पुगेको टोलीले दराजमा खुकुरी भेटिएको पुष्टि गरेको छ। प्रारम्भिक जानकारीअनुसार ती खुकुरी दुई व्यक्तिसँग सम्बन्धित रहेको एक छात्राले जनाएकी थिइन्, तर ती व्यक्तिहरू हाल क्याम्पस परिसरमा नभएको प्रहरीले जनाएको छ।
स्ववियु सभापति रोहित यादवले भने आफूले खुकुरी नल्याएको दाबी गर्दै भने, ‘स्ववियु कार्यालय बिहानैदेखि खुल्ने भएकाले सबै कुरा मेरो नियन्त्रणमा हुँदैन। तर यदि प्रमाणित भएमा सभापतिको पदबाट राजीनामा दिन तयार छु।’
यसअघि पनि स्ववियु निर्वाचनको क्रममा क्याम्पसमा नेविसंघ निकटका विद्यार्थीहरूबीच खुकुरी हानाहान भएको घटनामा केही घाइते र पक्राउ परेका थिए। हाल प्रहरीले यसपटकको घटनालाई पनि प्राथमिकताका साथ अनुसन्धान गरिरहेको जनाएको छ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ