भक्तपुरको बोडेस्थित सिन्टिटारमा दुई दिदीबहिनीले आत्महत्या गरेका छन्। बिहीबार बिहान ६:४५ बजे, सुर्खेत पञ्चपुरी नगरपालिका–८ घर भई हाल बोडेमा बस्दै आएकी १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सृजना कँडेल मृत अवस्थामा फेला परे।
प्रहरीका अनुसार, आत्महत्याअघि दुवैले एउटै डोरीमा पासो लगाउँदै सेल्फी मोडमा फोटो खिचेर त्यसलाई टिकटक भिडियो बनाएर अपलोड गरेका थिए। भिडियोमा पृष्ठभूमिमा “मरेर गए नि नतोडिने बन्धन माया हो” भन्ने गीत प्रयोग गरिएको थियो।
न संवाद, न पीडा, शान्त अनुहार
मोबाइलबाट बरामद भिडियो तथा तस्वीरहरूमा उनीहरूको अनुहारमा कुनै पीडाको भाव देखिएको छैन। प्रहरीका अनुसार भिडियोमा आत्महत्या प्रक्रिया नै योजनाबद्ध रूपमा खिचिएको देखिन्छ।
भारतबाट भागेर आएको खुलेको
प्रहरी अनुसन्धानबाट खुल्न आएको छ कि ती दिदीबहिनी भारतबाट केही समयअघि भागेर काठमाडौं आएका थिए। उनीहरूका बाबुआमा रोजगारीका लागि भारतमा छन् भने काठमाडौंको कलंकीमा एक आन्टी बस्दै आएकी छन्।
फेसबुकबाट सबै ब्लक, आत्महत्या पूर्व बुवाको नम्बर पोस्ट
आत्महत्याअघि उनीहरूले फेसबुकबाट सबै आफन्तलाई ब्लक गरेका थिए भने बुवाको भारतमा चल्ने मोबाइल नम्बर पोस्ट गरेका थिए। यही नम्बरको आधारमा प्रहरीले परिवारलाई खबर गरेको हो।
टिकटकपछि अफलाइन, मोबाइल प्रमाणको रूपमा सुरक्षित
टिकटक पोस्ट गरेपछि उनीहरू अफलाइन भएका थिए। घटनास्थलमा फेला परेको मोबाइललाई अहिले प्रमाणको रूपमा सुरक्षित गरिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए।
मृतक बुबा नेपाल फर्कंदै
घटनापछि मृतकका बुबा भारतबाट जहाजमार्फत नेपाल आउँदैछन्। कान्छीआमा बोडेस्थित घटनास्थलमै पुगेकी छन्। उनका अनुसार, भारतमै दुई छोरी हराएको सूचना सार्वजनिक मिडियामार्फतसमेत गरिएको थियो।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ