अखिल क्रान्तिकारी सुदूरपश्चिम इन्चार्ज तथा उपमहासचिव रामचन्द्र भट्टमाथि कुटपिट गर्ने सोही संगठनका अर्का एक सदस्यलाई पार्टीले कारबाही गरेको छ ।
आइतबार दिउँसो कञ्चनपुर पार्टी कार्यालयमा हानाहान हुँदा भट्ट गम्भीर घाइते भएका थिए । उनलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका भुवन विष्टलाई साधारण सदस्यता समेत कायम नहुनेगरी कारबाही गरिएको हो ।

जिल्ला पार्टीले विष्टको साधारण सदस्यता समेत नरहनेगरी पार्टीबाट निष्कासित गरेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । भट्टको टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी सागर बोहराले बताए ।
डीएसपी सागर बोहोराका अनुसार घाइते विष्टको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । पार्टी कार्यालयमा आन्तरिक छलफलका क्रममा कुटपिट भएको डीएसपी बोहोराको भनाइ छ ।

उक्त घटनापछि क्रान्तिकारीका केन्द्रिय अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाले इन्दिरा पुरीको संयोजकत्वमा इन्दु के.सी. र प्रकाश तमाङ सदस्य रहेका छानबिन समिति गठन गरेका छन् । उक्त समितिले ७ दिनभित्र प्रतिवेदन बुझाउने छ ।
कुटाई खाएर टाउकोमा ७ टाँका हानिएको भनिएका उपमहासचिव रामचन्द्र भट्टले अखिल (क्रान्तिकारी) को निर्वाचनमा ४०३ मत ल्याएर निर्वाचित भएका थिए भने विष्ट १७९ मत ल्याएर ५ जनामा चौथो भएका थिए । भट्ट जनार्दन शर्मा निकट मानिन्छन ।


देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ