लुम्बिनी प्रदेशमा लोसपाबाट संसदीय दलका नेता सन्तोष पाण्डेय मन्त्री बनेसँगै सो पार्टीको आन्तरिक विवाद बाहिर आएको छ । असार १९ गते बजेट पास गर्ने दिन अन्य विपक्षी दलले सदन बहिस्कार गरेपछि उही दिन सभामुखलाई पत्र दिएर विपक्षी दलमा बसेको लोसपाबाट कसरी मन्त्री बनाइयो भन्दै संसदीय दलका उपनेता कन्हैया बानियाले प्रश्न उठाएका छन् । मन्त्री बनेका पाण्डेय संसदीय दल नेता तथा पार्टीको प्रदेश अध्यक्ष आफै हुन् । तर लुम्बिनी प्रदेश सरकारमा चौथो पटक मन्त्री बनेका पाण्डेयले सोमबार दिउसो ३ बजे शपथ लिने तयारी छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् बिस्तार गर्दै खाली रहेको युवा तथा खेलकुद मन्त्रीमा लोसपाका संसदीय दलका नेता पाण्डेयलाई आइतबार नियुक्त गरेका हुन् । तर सोही पार्टीको संसदीय दलका उपनेता तथा पार्टीका केन्द्रीय सदस्य रहेका बानियाले विपक्षमा रहेपछि सदन पनि नबसेको र सरकारलाई समर्थन गर्ने निर्णय पनि नगरिएको तथा पार्टीबाट सरकारमा जाने कुनै औपचारिक निर्णय नभएकोले यसको वैधानिकता नहुने बताए ।
पाण्डे यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री भएका थिए । पटक–पटक मन्त्री भएका पाण्डेले कांग्रेस–एमाले गठबन्धनको अहिलेको सरकारले ल्याएको बजेट पारित गर्न सहयोग गरेका थिए ।
बजेट पारित गर्ने समयमा प्रमुख प्रतिपक्ष दलसहित विपक्षी दलहरुले प्रदेश सभा बैठक बहिष्कार गरेपछि सत्ता पक्षमै रहेको लोसपा एकाएक विपक्षीमा पुगेको थियो । त्यतिबेलै कांग्रेस एमालेले पाण्डेलाई मन्त्री बनाउने सहमति गरेर सरकारलाई दिएको समर्थन फिर्ता गराएर विपक्षमा बस्न लगाएको विषय बाहिर आएको थियो ।
लोसपाबाट पटक पटक पाण्डेयले अवसर पाएको भन्दै पार्टीमा उपनेता कन्यैहालाई मन्त्री बनाउन आग्रह गरिएको थियो तर आइतबार बानिया नपरेपछि उनी निकटस्थहरूले सामाजिक सञ्जालमा गम्भीर असन्तुष्टि जनाएका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ