नेपालमा गम्भीर रोग लागेपछि विदेश धाउनुपर्ने बाध्यता धेरै नेपालीका लागि पीडादायी सत्य थियो। आफ्नो जीवन बचाउन घर–जग्गा बेचेर वा ऋण लिएर भारत, सिंगापुर वा अन्य मुलुक धाउने अवस्था कहिल्यै सहज थिएन। तर आज त्यस्तो अवस्था बदलिँदै गएको छ। यसको पछाडि एउटा नाम छ- नेपाल मेडिसिटी अस्पताल, जसलाई डा. उपेन्द्र महतोले आफ्नो दृष्टि र संकल्पबाट जीवन दिएका हुन्।
सिरहाको एक सामान्य परिवारमा जन्मिएका उपेन्द्र महतो बाल्यकालदेखि नै फरक सपना बोकेका थिए। उनी व्यक्तिगत सफलतामा मात्र सीमित रहन चाहन्थेनन्; सफल भएर समाजलाई केही फर्काउने चाहना राख्थे। यही संकल्पले उनलाई सोभियत संघसम्म पुर्यायो, जहाँ उनले चिकित्साशास्त्र अध्ययन गरे। चिकित्सकको उपाधि पाएपछि पनि उनी केवल “डाक्टर” भएर रोकिएनन्। स्वास्थ्य सेवा भनेको जीवन बचाउने धर्म हो भन्ने गहिरो बुझाइले उनलाई उद्यमशीलताको बाटोमा लगे। रूसमै बसेर उनले MediGroup Hospitals सञ्चालन गरे, उद्योग–व्यवसाय विस्तार गरे, र छिट्टै नै विश्वभर चिनिने सफल नेपाली उद्यमी बने। तर, यति ठूलो सफलताको शिखरमा पुगे पनि उनको मन मातृभूमिप्रतिको मायाले बाँधिएको थियो।

त्यही कारण उनले आफ्नो अनुभव, सीप र पुँजी नेपालमै लगानी गर्ने निर्णय गरे। यही निर्णयले जन्म दियो— भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पताल। सन् २०१८ मा सुरु भएको यो अस्पताल आज नेपालकै गौरव बनेको छ। यसको उद्घोष स्पष्ट छ— “अब नेपालमै विश्वस्तरीय स्वास्थ्य सेवा सम्भव छ।”
नेपाल मेडिसिटीलाई नेपालकै पहिलो NABH International मान्यता प्राप्त अस्पताल हुनु गर्वको कुरा हो। यहाँ ७५० ओटा बेड छन्, जसले यसलाई देशकै सबैभन्दा ठूलो निजी super-specialty hospital बनाएको छ। अस्पतालमा १७ वटा अत्याधुनिक मोड्युलर अपरेसन थिएटर छन्, HEPA फिल्टर, ग्यास स्काभेन्जिङ सिस्टम र नवीनतम प्रविधि जडान गरिएको छ। यी सबैले बिरामीलाई सुरक्षित र स्वच्छ वातावरणमा उपचार सुनिश्चित गर्छ।

मेडिसिटी केवल आधुनिक प्रविधिको अस्पताल मात्र होइन, यसको लक्ष्य उपचारलाई सुलभ, सहज र मानवीय बनाउन हो। यसले बिरामीलाई आफ्नो देशमै उपचार गरेर बाँच्ने आशा दिएको छ। महँगो उपचारका लागि विदेश जानुपर्ने बाध्यता घटेपछि मुलुकको ठूलो मात्रामा विदेशी मुद्रा जोगिएको छ, जसले अर्थतन्त्रलाई समेत बल पुर्याएको छ।
यो अस्पतालले ground ambulance मात्र होइन, air ambulance पनि सञ्चालन गरेको छ। छतमा र जमिनमा दुबै helipad भएकाले आपतकालीन अवस्थामा देशको जुनसुकै भागबाट बिरामीलाई तुरुन्तै ल्याउन सकिन्छ। यहाँ ६० भन्दा बढी विशेषज्ञ OPD, Siemens Skyra MRI (3 Tesla) जस्ता अत्याधुनिक परीक्षण प्रविधि, क्यान्सर पहिचानका लागि immunohistochemistry प्रणाली, र interventional radiology जस्ता सेवा उपलब्ध छन्।

नेपाल मेडिसिटीले धेरै कुरामा पहिलो कदम चालिसकेको छ। गम्भीर अवस्थामा बिरामीलाई बचाउन प्रयोग हुने ECMO (Extra Corporeal Membrane Oxygenation) प्रणाली यहाँ उपलब्ध छ, जुन निजी अस्पतालमध्ये नेपालमा केवल यहीँ छ। न्युरो–सर्जरीमा प्रयोग हुने neuro-navigation system, देशकै सबैभन्दा ठूलो critical care program (७५ भन्दा बढी ICU बेडसहित), र उच्चस्तरीय सुरक्षा तथा वातावरणमैत्री पूर्वाधारले यसलाई अद्वितीय बनाएको छ।
डा. उपेन्द्र महतो बारम्बार भन्छन्- “सफलता आफ्नै लागि मात्र होइन, समाजका लागि पनि उपयोगी हुनुपर्छ।” यही सोचले उनी व्यवसायी मात्र होइन, समाजसेवी र दूरदर्शी नेताका रूपमा पनि चिनिएका छन्। बिरामीको अनुहारमा फर्किएको मुस्कान, परिवारको आँखामा फर्किएको आशा र नेपालकै स्वास्थ्य क्षेत्रमा जगाएको विश्वास नै मेडिसिटीको सबैभन्दा ठूलो उपलब्धि हो।

नेपाल मेडिसिटी र डा. महतोको यात्रा केवल एक अस्पताल वा एक उद्यमीको कथा मात्र होइन, सम्पूर्ण नेपाली समाजको आशा र गर्वको कथा हो। यसले हामीलाई सिकाउँछ- सपना देख्न सकिन्छ भने, त्यसलाई पूरा गर्ने आँट गर्न सकिन्छ भने, र मातृभूमिप्रतिको प्रेम जगेर्ना गर्न सकिन्छ भने, असम्भव भन्ने शब्द केवल भ्रम हो।
(कुराकानीमा आधारित)
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ