जेन–जी आन्दोलनपछि भदौ २४ गते सर्वोच्च अदालतमा भएको आगजनीले हजारौँ मुद्दाका फाइल खरानी बनेपछि अब मुद्दा कसरी अघि बढाउने भन्ने चिन्ता बढेको छ।
सर्वोच्चका कर्मचारीहरूका अनुसार करिब ६० हजारभन्दा बढी मुद्दाका मिसिल जलेको अनुमान छ। त्यसमा कति पूर्ण रूपमा नष्ट भए वा सुरक्षित रहे भन्ने यकिन तथ्यांक भने अझै प्राप्त भएको छैन।
यस्तो अवस्थामा सर्वोच्च अदालतले तीनवटा उपायमार्फत जलेका मुद्दा पुनः प्राप्त गर्ने प्रयास थालेको छ :
🔹 पहिलो उपाय
सुनुवाइ भइरहेका मुद्दाका फाइल सेवाग्राही र तिनका वकिलहरूसँग माग्ने। अदालतमा रहेका मिसिल नष्ट भए पनि वकिल वा सेवाग्राहीसँग भएका प्रतिलिपि ल्याएर अदालतमा राख्ने तयारी भइरहेको छ। यसरी करिब २४ हजार मुद्दाका फाइल संकलन गर्न सकिने सर्वोच्चको अनुमान छ।
🔹 दोस्रो उपाय
आन्तरिक इमेलमार्फत सुरक्षित भएका फाइल पुनः प्रयोग गर्ने। सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेका अनुसार कतिपय मुद्दाका मिसिल इमेलमा सुरक्षित हुनसक्ने भएकाले त्यसलाई प्रयोग गर्ने प्रयास भइरहेको छ।
🔹 तेस्रो उपाय
नेपाल बार एसोसिएसन र वकिलहरूसँग सहयोग माग्ने। वकिलहरूसँग मुद्दाका फोटोकपी वा प्रतिलिपि हुनसक्ने भएकाले सर्वोच्चले उनीहरूलाई मिसिल उपलब्ध गराउन आग्रह गरेको छ।
अहिले सर्वोच्च परिसरमा रहेको एनेक्स भवनमा केही फाइल भने सुरक्षित छन्। तर, सुनुवाइ क्रममा रहेका अधिकांश फाइल जलेका कारण तत्कालै वैकल्पिक उपाय खोजिएको हो।
सर्वोच्चको तथ्यांकअनुसार भदौ २२ सम्म २४ हजार २३४ मुद्दा बाँकी थिए। तीमध्ये दुई वर्ष नाघेका ७८ हजार ७६२, पाँच वर्ष नाघेका १२०२, थुनुवासँग सम्बन्धित १ हजार ९०९ र फुटकर निवेदन ५०९ मुद्दा रहेका छन्।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ