काठमाडौं — दसैंको शुभकामना सन्देशमा पहिलोपटक ‘पूर्वराजा’ शब्द प्रयोग भएपछि निर्मल निवास फेरि विवादमा परेको छ। संविधानले नचिनेको सम्बोधन प्रयोग गरेको आरोपमा प्रहरी समेत हस्तक्षेप गर्न बाध्य भएको खुलासा भएको छ।


चार दिनअघि जारी शुभकामना सन्देशमा “पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव” भनेर उल्लेख भएपछि यो राजतन्त्र अन्त्यपछि शाहले पहिलोपटक आफ्नो ‘पूर्व’ हैसियत स्वीकारेको संकेतका रुपमा व्याख्या भयो। तर, राजावादी समूहले यसलाई अस्वीकार गरेका छन्। उनीहरूको भनाइमा, “राजा कहिल्यै पूर्व हुँदैन।”
प्रहरी स्रोतका अनुसार, यसअघि पनि निर्मल निवासले संविधानले मान्यता नदिएको सम्बोधन प्रयोग गरेको भन्दै संवाद सचिवालय प्रमुख फणिराज पाठकलाई जिल्ला प्रहरी परिसरमा बोलाइएको थियो। उनलाई दिनभर सोधपुछ गरेर आइन्दा ‘पूर्वराजा’ लेख्ने र संवैधानिक हैसियतबाहेक अन्य शब्द प्रयोग नगर्ने सहमतिमा मात्र छाडिएको थियो।
यसअघि राजावादी आन्दोलन चर्किँदा निर्मल निवासले विज्ञप्तिमा ‘श्री ५ महाराजधिराज’ भन्ने सम्बोधन निरन्तर प्रयोग गरेको थियो। तर प्रहरी र कानुनी विवादपछि अहिले फेरि ‘पूर्वराजा’ शब्द प्रयोग गर्न बाध्य भएको बुझिन्छ।
राजनीतिक वृत्तमा यो कदमलाई राजावादी आन्दोलनको कमजोर अवस्था र प्रहरीको कडाइको परिणामका रुपमा हेरिएको छ। तर, दशैंको सन्देशमा प्रयोग भएको एउटा शब्दले मात्रै देशभर नयाँ बहस सुरु भएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ