बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • जेनजी आन्दोलनमा कोटेश्वर प्रभागका प्रहरी हत्या आरोपमा एक युवक पक्राउ

जेनजी आन्दोलनमा कोटेश्वर प्रभागका प्रहरी हत्या आरोपमा एक युवक पक्राउ


कान्तिपथ


काठमाडौं, असोज १७ – हालैको जेन जी आन्दोलनका क्रममा राजधानीमा भएको झडपका क्रममा प्रहरी सहायक हवलदार अमृत गुरुङको मृत्यु भएको प्रकरणमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कैलाली जिल्लाको लम्किचुवा घर भई हाल करिब २१ वर्षका अनुपम भण्डारी रहेका छन्। उनलाई असोज १३ गते इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरमा पठाइएको काठमाडौं प्रहरी प्रवक्ताले जानकारी दिएका छन्।

प्रहरीका अनुसार, पक्राउ परेका भण्डारीमाथि आन्दोलनकै क्रममा कोटेश्वर प्रहरी प्रभागमा कार्यरत प्रहरी सहायक हवलदार गुरुङमाथि आक्रमण गरी घाइते बनाएको र उपचारका क्रममा उनको मृत्यु भएको आरोप छ। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरुको पहिचान र भूमिकाबारे पनि खोजी गरिरहेको जनाएको छ।

काठमाडौं प्रहरी परिसरका एक अधिकारीले भने, “घटनाको प्रकृति गम्भीर भएकाले विस्तृत अनुसन्धान अघि बढाइएको छ। हाल पक्राउ परेका युवकसँगै अन्य संलग्न व्यक्तिहरुको खोजी र प्रमाण संकलनको काम भइरहेको छ।”

उक्त घटनापछि राजधानीसहित विभिन्न ठाउँमा प्रहरी सुरक्षामा कडाइ गरिएको छ। आन्दोलनका क्रममा देखिएका हिंसात्मक गतिविधि नियन्त्रणमा लिन र दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीले विशेष रणनीति बनाई काम गरिरहेको बताइएको छ।

मृतक प्रहरी सहायक हवलदार अमृत गुरुङ लामो समयदेखि काठमाडौंमा सेवामा खटिएका थिए। उनका पार्थिव शरीरलाई परिवारको उपस्थितिमा अन्त्येष्टि गरिएको छ।

यसैबीच, स्थानीय स्तरमा आन्दोलनका नाममा हिंसात्मक गतिविधि रोक्न नागरिक समाजका प्रतिनिधिहरुले संयमता अपनाउन आग्रह गरेका छन्। प्रहरी प्रशासनले भने दोषीलाई कारबाही गर्ने र निर्दोषलाई नफसाउने प्रतिवद्धता जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत