विराटनगर । विराटनगर महानगरपालिका–३ स्थित बाल सुधार गृहबाट ९ जना ‘बाल बिझ्याइँकर्ता’ फरार भएका छन्। बिहीबार दिउँसो करिब ४ बजेतिरको घटनामा उनीहरूले ड्युटीमा रहेका प्रहरीलाई धक्कामुक्की गरेर भागेका हुन् ।
सुधार गृहमा राखिएकामध्ये ९ जना बिझ्याइँकर्ताको समूह कर्मचारीहरू घर जाने समय पारेर गेट खुल्ने मौकामा फरार भएका थिए । उनीहरूको धक्कामुक्कीबाट ड्युटीमा रहेका ३ जना सादा पोसाकका प्रहरी सामान्य घाइते भएका छन् ।
फरार भएकामध्ये २ जना बाल बिझ्याइँकर्ता प्रहरीको सम्पर्कमा आइसकेका छन् । अन्य ७ जनाको खोजी कार्य जारी छ।
मोरङ प्रहरी प्रमुख एसपी कोवित कटवालले भागेकाहरू १८ वर्षभन्दा माथिका रहेको र उनीहरूले जबरजस्ती गरेर फरार भएको बताए ।फरार भएकामध्ये दुई जनालाई नियन्त्रणमा लिइसकिएको उनले जानकारी दिए । फरार हुनेहरू १८ वर्षभन्दा माथिका छन् । सुधार गृहमा विभिन्न उमेर समूहका बिझ्याइँकर्ता एकै ठाउँमा बस्ने भएकाले समय समयमा समस्या आउने गरेको छ ।
फरार बिझ्याइँकर्ताका घरपरिवारलाई खबर गरिसकेको र घर पुगेमा प्रहरीलाई जानकारी दिन भनिएको कटवालले बताए ।
एसपी कटवालले सुधार गृहभित्रको क्षमताभन्दा बढी बिझ्याइँकर्ता बस्ने गरेका कारण समस्या थपिएको औंल्याए । सुरक्षाको विषयमा बोल्दै उनले सुधार गृहमा रहेका प्रहरीहरू पोसाक र हतियारबिनै ड्युटी गर्नुपर्ने अवस्था रहेको बताए ।
स्थानीय बासिन्दाका अनुसार सुधार गृहको पर्खाल बाहिरबाट झोलामा सामान फ्याँक्ने गतिविधि पनि हुने गरेको पाइएको छ । प्रहरीले फरार भएका बाँकी ७ जनाको खोजीका लागि टोली परिचालन गरेको जनाएको छ ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ