काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) हेर्न पुगेका दर्शकले सुविधा र प्रविधिमा दोस्रो संस्करणको व्यवस्थापन प्रभावकारी रहेको प्रतिक्रिया दिएका छन् । दर्शकले खाद्य स्टल, शौचालयलगायत सुविधाको भने उचित व्यवस्थापन हुन नसकेको गुनासो गरेका हुन् ।
रङ्गशाला १० हजार दर्शक अट्ने क्षमताको प्यारापिटसहित अन्तरराष्ट्रियस्तरको निर्माण भएको छ भने ‘फ्लडलाइट’का कारण राति पनि खेल सम्भव भएकाले एनपिएलको उत्सह थपिएको कैलालीको टीकापुरबाट खेल हेर्न आएका सुदूरपश्चिम रोयल्सका समर्थक विशाल जोशीले बताए । बास्न, हेर्न र दर्शनको क्षमतामा वृद्धि भए पनि चिया, पानी र शौचालयको भने उचित व्यवस्थापन हुन नसकेको उनको गुनासो छ ।
दर्शकले सुविधा र प्रविधिका हिसाबले दोस्रो संस्करण उच्चस्तरको भएको बताउँदै आगामी दिनमा व्यवस्थित खाद्यस्टल तथा शौचालयको सुविधा थप गर्नुपर्नेमा जोशीले जोड दिए । “पोहोर गेटबाट प्रवेश गर्न पनि असहज थियो । दर्शकको घुइँचो व्यवस्थापन कमजोर हुँदा, धक्का खाँदै धुलैधुलो भएर खेल हेर्ने ठाउँ खेज्नुपथ्र्यो । बस्ने स्थान चिसो हुँदा कागज ओछ्याएर बस्नुपर्ने बाध्यता थियो । यसपालि सुरुदेखि नै व्यवस्थित छ, आरामले सिटमा बसेर हेर्न पाइएको छ”, उनले भने ।
पोहोरको तुलनामा सुरक्षा व्यवस्थापन, पार्किङलगायतको व्यवस्थापन पनि सहज भएको जोशीले बताए ।
भित्र केही सुविधासम्पन्न रेस्टुराँका स्टल रहे पनि अधिकांश दर्शकका लागि महँगो हुने उनले बताए । आफूले समर्थन गरेको सुदूरपश्चिमको खेल अहिलेसम्म राम्रो रहेको भन्दै उनले खुसी व्यक्त गरे ।
एनपिएल हेर्न सात वर्षको छोरासहित कीर्तिपुर पुगेकी शान्ति शाहले पोहोरको तुलनामा टिकट बिक्री छिट्टै भएकाले रोजेको टिमको खेल हेर्न नपाएको गुनासो गरिन्। पोहोर आफूले उभिएर हेर्नुपरेको सम्झदै उनले यस पटक भने सपरिवारले सहज रूपमा अवलोकन गर्न पाइरहेको प्रतिक्रिया दिइन् ।
कर्णाली एक्सका समर्थक राजेश रानाले गत वर्षजस्तो चौरको चिसोमा बसेर खेल देर्नुनपरेको बताए ।
एनपिएल हेर्नका लागि जुम्लाबाट कीर्तिपुर आएका तरुण काफ्लेले पोहोरभन्दा उत्कृष्ट व्यवस्थापन भएको प्रतिक्रिया दिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ