बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • राजनिति
  • एनएमसी निर्वाचन-२०८२ : सदस्य पदका उम्मेदवार डा. राम थापा क्षेत्रीद्वारा २५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

एनएमसी निर्वाचन-२०८२ : सदस्य पदका उम्मेदवार डा. राम थापा क्षेत्रीद्वारा २५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक


कान्तिपथ


नेपाल मेडिकल काउन्सिल (एनएमसी) को आसन्न निर्वाचन–२०८२ नजिकिँदै गर्दा सदस्य पदका उम्मेदवार डा. राम थापा क्षेत्रीले आफ्ना चुनावी एजेन्डा सार्वजनिक गरेका छन्। डा. क्षेत्रीले संस्थागत सुधार, सुशासन, पारदर्शिता र चिकित्सकहरूको पेसागत हकहितलाई केन्द्रमा राख्दै २५ बुँदे विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन्।

डा. क्षेत्रीले काउन्सिलको सेवालाई चुस्त बनाउन ‘स्मार्ट टेक्नोलोजी’ को प्रयोगमा जोड दिएका छन्। झन्झटिलो कागजी प्रक्रियाको अन्त्य गर्ने, परीक्षा प्रणालीलाई विकेन्द्रीकरण गर्ने र काउन्सिलको पहुँचलाई प्रादेशिक तहसम्म विस्तार गर्ने उनका मुख्य योजना छन्।

सार्वजनिक प्रतिबद्धता पत्रमा इन्टर्न तथा रेजिडेन्ट डाक्टरहरूलाई निर्वाह भत्ता दिलाउन नीतिगत पहल गर्ने, फेलोसिपमा रहेका चिकित्सकलाई सहुलियत दिने र सम्पूर्ण चिकित्सक तथा तिनका परिवारलाई उपचारमा विशेष छुटसहित स्वास्थ्य बीमा कार्यक्रममा समेट्ने उल्लेख छ।

साथै, कार्यक्षेत्रमा चिकित्सकको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायसँग समन्वय गर्ने र मेडिको–लिगल केसमा पर्ने अनावश्यक दबाब रोक्न नीतिगत व्यवस्था गर्ने उनले बताएका छन्।

डा. क्षेत्रीले बिरामी र चिकित्सकबीचको विवादलाई उपभोक्ता अदालतमा पुग्नुअघि नै काउन्सिलमार्फत प्रभावकारी छानबिन गरी टुंगो लगाउने संयन्त्र विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। काउन्सिलका निर्णयहरू मासिक पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरी पारदर्शिता कायम गर्ने उनको योजना छ।

यसका अलावा एफसीपीएस (FCPS) कार्यक्रम पुनः सुचारु गर्ने र विदेशबाट पढेर आएका चिकित्सकहरूको समकक्षतासम्बन्धी समस्या समाधान गर्ने विषयलाई पनि उनले प्राथमिकतामा राखेका छन्।

काउन्सिलको निर्वाचन उपत्यका बाहिर २०८२ पुस ४ र ५ गते तथा काठमाडौं उपत्यकामा २०८२ पुस ११ र १२ गते हुँदैछ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत