बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • योजना प्रमुख भट्टलाई तत्काल निलम्बन गर्न स्थानीय युवाहरुको माग

योजना प्रमुख भट्टलाई तत्काल निलम्बन गर्न स्थानीय युवाहरुको माग


गणेश विक


लुम्बिनी । लुम्बिनी विकास कोषकी योजना प्रमुख स्मिता भट्टलाई निलम्बन गर्न स्थानीय युवाहरुको संस्था रेस्पोन्स टिम लुम्बिनीले माग गरेको छ ।

योजना प्रमुख भट्टले कोषका ठेक्कामा आर्थिक चलखेल गरेको, विकास कोषको मुख्य कार्यालयमा अति न्यून कार्यदिन उपस्थित भएको भन्दै उनलाई निलम्बर र छानवीन गरी कारवाही गर्न टिमले माग गरेको हो ।

टिमले शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी लुम्बिनी गुरुयोजनाका सबै परियोजनाको स्वतन्त्र अडिट गर्नुपर्र्ने, सरकारी सुविधा दुरुपयोगबारे सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिन गर्नुपर्ने र पदको दुरुपयोग पदाधिकारीलाई बर्खास्त गर्न पनि माग गरेको छ ।

पछिल्लो पटक ३ करोड ५६ लाख रुपैयांको दियो वत्तीको ठेक्कामा टेण्डरमा योजना प्रमुख भट्टले आफू निकटका ठेकेदारलाई टेण्डर दिलाउन प्रयास गरेको रेस्पोन्स टिमको आरेप छ ।

टेण्डरको फर्म बुझाउने समय दिउंसोको १२ बजेसम्म मात्र भएको र त्यतिन्जेल तीन वटा फर्मले बुझाइसकेको अवस्थामा १२ बजेपछि पनि भट्टले आफू निकटका ठेकेदारलाई आवेदन हाल्न दिन प्रयास गरेको तर स्थानीयले रोकेको अध्यक्ष जसमेर खानले बताए ।

‘योजना प्रमुखले आफू नजिकको ठेकेदारलाई आफ्नो कार्यकक्षमा राखेर टेण्डर हाल्ने समय सकिएपछि पनि हाल्न लगाउने प्रयास गरेको स्थानीयले प्रत्यक्ष देखेका छन्’–खानले भने–‘छानवीन गर्ने र कार्यालयको सिसिटिभी फुटेज हेर्ने हो भने मिलेमतो गरेको पुष्टी हुन्छ ।’

लुम्बिनी विकास कोषमा निर्माण सम्बन्धी काम गरेका एक ठेकेदारले आफूले करोडौं भुक्तानी पाउन बांकी भएकाले रोकिने डरले सबै कुरा खोल्न नमिल्ने बताए ।

‘यहां घुस नबुझाएसम्म नियमसंगत तरिकाले ठेक्का पाउन सकिन्न यो सत्य हो’–उनले भने–‘मसंग प्रमाण छ तर अहिले सार्वजनिक गर्दा मेरो बक्यौता रोकिदिन्छन् ।’

लुम्बिनी विकास कोषकै हाजिरी तथ्यांक अनुसार योजना प्रमुख भट्ट गत आर्थिक वर्षमा ३११ दिन कार्यदिन हुंदा ८२ दिन मात्र कार्यालयमा हाजिर भएकी छन् ।

गत आर्थिक वर्षमा ३११ दिन कार्यदिन थियो ।

भट्ट अधिकांश समय काजमा भन्दै काठमाडौं बस्ने गरेकी र ३० दिन घर विदा लिएको हाजिरी तथ्यांकमा देखिन्छ ।

खानले योजना प्रमुख भट्टले कोषलाई व्यक्तिगत स्वार्थ, ठेक्कापट्टा र कमिसनको अड्डा बनाएको आरोप लगाउंदै यस्ता गतिविधि सह्य नभएको बताए ।

योजना प्रमुख भट्ट विभिन्न टेन्डर प्रक्रियामा प्रत्यक्ष सहभागी भएर पदको दुरुपयोग गरेको, राजनीतिक संरक्षणको आडमा मनपरी निर्णय लिएको र सार्वजनिक खरीद ऐनको मर्म बिर्सेर सार्वजनिक स्रोतमा हात हाल्ने काम गरेको उनले आरोप लगाए ।

लुम्बिनी विकास कोष जस्तो अन्तर्राष्ट्रिय महत्वको संस्थाको योजना प्रमुख पदको जिम्मेवारी लिएको व्यक्ति कार्यालयमा नगण्य दिन मात्र उपस्थित हुंदा गुरुयोजनाको काममा प्रत्यक्ष असर गरेको उनले बताए ।

‘योजनाप्रमुख भट्टमाथि विभिन्न योजनामा आर्थिक चलखेल गरेको आरोप लागेकाले उनलाई निलम्बन गरेर छानवीन हुनुपर्छ’–टिमका अध्यक्ष खानले भने–‘जेन जी युवाको मागलाई बेवास्ता गरिए चरणवद्ध आन्दोलनमा जान वाध्य हुनेछौं ।’

सरकारी गाडी, इन्धन, भत्ता तथा सेवा सुविधालाई व्यक्तिगत विलासिताका रूपमा दुरुपयोग गरेको पनि टिमको आरोप छ ।

‘सरकारी गाडीलाई ‘फन–ट्रिप’मा प्रयोग गर्ने, गाडीलाई रित्तै काठमाडौमा पठाउने र आफू विमानबाट यात्रा गर्ने जस्ता गतिविधि भ्रष्टाचारको चरम उदाहरण हुन्’–खानले भने–‘यी सबै विषयमा छानवीन आवश्यक छ ।’

निर्णय प्रक्रियामा अपारदर्शिता देखिँदै आएको भन्दै अध्यक्ष खानले मनलागी परियोजना सञ्चालन गर्ने, राष्ट्रिय गौरव आयोजनाको नाममा विभिन्न नदीबाट नदीजन्य पदार्थ निकाल्न कमिसन लिएर अनुमति पत्र दिने गरेको आरोप लगाए ।

लुम्बिनी विकास कोषका ज्ञानिन राईले स्थानीय युवाको टिमबाट योजना प्रमुखको निलम्बन र छानवीनको माग गर्दै ज्ञापनपत्र आएको स्वीकार गर्दै यसबारे सम्बन्धित माथिल्लो निकायमा जानकारी गराएको बताए ।

योजना प्रमुख भट्टले भने आफूले योजनाहरुको टेण्डरमा विगतमा हुंदै आएको कमिसनको चलखेल बन्द गराएपछि विकास कोषकै माथिल्लो तहका कर्मचारीले स्थानीयलाई उचालेर आफ्नो बद्नाम गराउन खोजेको बताइन् ।

उनले आफू कोषकै कामका लागि काजमा खटिएको दावी गर्दै यो वर्ष सुत्केरी समेत भएकाले धेरै दिन विदा बसेको बताइन् ।

भट्टले कोषकै कर्मचारी र स्थानीयको नाममा असुरक्षा महसुस गरेको समेत बताइन् ।

गोर्खाकी भट्टलाई माओवादी केन्द्रको कोटामा योजना प्रमुख नियुक्त गरिएको थियो । उनको कार्यकाल अझै तीन वर्ष बांकी छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत