बुधबार, फाल्गुन ६, २०८२

तीन करोड ७४ लाख ८४ हजार धरौटी बुझाएर रवि लामिछाने रिहा


कान्तिपथ


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कुल तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको रकम बुझाएर रिहा भएका छन्। शुक्रबार भैरहवास्थित जिल्ला अदालत रूपन्देहीमा उक्त रकमको बैंक जमानत तथा धरौटी बुझाएपछि उनलाई छाडिएको जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिए।

यसअघि बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशहरू वासुदेव आचार्य र तेजनारायण पौडेलले लामिछानेलाई शर्तसहित रिहा गर्न आदेश दिएका थिए। सो आदेशअनुसार उनले अदालतमा निवेदन दिँदै आफ्नो भागमा पर्ने दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो बराबरको बैंक ग्यारेन्टी बुझाउने प्रतिबद्धता जनाएका थिए। उच्च अदालतले उक्त प्रस्ताव स्वीकार गरेपछि रिहाको आदेश जारी गरेको हो।

यससँगै, यसअघि गत माघ १३ गते जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले पुर्पक्षका लागि एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। उच्च अदालतले उक्त धरौटी रकम पनि कायम राख्न आदेश दिएपछि लामिछानेले सो रकमसमेत बुझाएका हुन्।

सूचना अधिकारी अर्यालका अनुसार लामिछानेले पहिले बुझाएको दुई करोड ७४ लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी शुक्रबार सनाखत गरेका थिए भने बाँकी एक करोड रुपैयाँ धरौटी बुझाएपछि उनी औपचारिक रूपमा रिहा भएका हुन्। यसरी दुई फरक शीर्षकअन्तर्गतको धरौटी जोडिँदा कुल रकम तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ पुगेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत