बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • काठमाडौँ प्रहरी परिसर प्रमुख रमेश थापाले सुरु गरे “हाम्रो प्रहरी” अभियान

काठमाडौँ प्रहरी परिसर प्रमुख रमेश थापाले सुरु गरे “हाम्रो प्रहरी” अभियान


कान्तिपथ


भदौको जेन–जी प्रदर्शनपछि काठमाडौं प्रहरीले इतिहासकै सबैभन्दा चुनौतीपूर्ण बिहानको सामना गर्नुपरेको थियो। आगोको धुवाँ अझै हटिसकेको थिएन, ९७ वटा प्रहरी कार्यालय ध्वस्त भएका थिए, १५५ सवारी साधन जलेका थिए र मुद्दाका फाइलहरू खरानी बनेका थिए। भौतिक संरचना ढले पनि प्रहरीप्रतिको विश्वास भने ढलेको थिएन।

अकल्पनीय क्षतिपछिको भोलिपल्ट डण्डा बोकेका हात होइन, सिमेन्ट र इँटा बोकेका नागरिकहरू बसन्तपुर, थिमी, बौद्धलगायत विभिन्न स्थानका प्रहरी भवनमा पुगे। खरानी पन्छाउँदै, भत्केका संरचना मिलाउँदै नागरिकहरूले आफैं प्रहरीलाई पुनः उभ्याउन थाले। यही दृश्यले प्रहरी संगठनभित्र नयाँ उत्साह र मनोबल जगायो।

काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाका अनुसार, “त्यो दिन हामीले महसुस गर्‍यौँ—भवन जले पनि प्रहरीप्रतिको अपनत्व अझै जीवित छ। नागरिकले ‘हाम्रो प्रहरी’ भनेपछि हामी फेरि उठ्नैपर्ने अवस्था आयो।” नागरिकको श्रमदानबाट हालसम्म ८६ वटा प्रहरी भवन मर्मत भइसकेका छन्। उनका शब्दमा, पसिना र आँशुले सिँचित श्रमदानले प्रहरीलाई कर्तव्यपथमा फर्कने ऊर्जा दिएको छ, र यही भावनाबाट अभियानको नाम ‘हाम्रो प्रहरी’ राखिएको हो।

आइतबार बसन्तपुरमा आयोजित समारोहमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ‘हाम्रो प्रहरी’ अभियानको औपचारिक उद्घाटन गरे। तर अभियानको वास्तविक सुरुवात भने संकटको घडीमा प्रहरीका लागि छानो बनाइदिने ती नागरिक नै थिए। समुदाय–प्रहरी साझेदारीमा आधारित यस अभियानअन्तर्गत प्रहरी भवन पुनर्निर्माणमा योगदान पुर्‍याउने स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवा र अभियन्ताहरूलाई सम्मान गरिएको छ।

एसएसपी थापाले नागरिकप्रतिको कृतज्ञता व्यक्त गर्दै भने, “नागरिकले ‘हाम्रो प्रहरी’ भनेपछि प्रहरी पनि ‘कर्तव्य मेरो’ भनेर फर्किएको छ। यो साझेदारी अब दीर्घकालीन संकल्प बनेको छ।” उनका अनुसार यो अभियान भवन मर्मतमा मात्र सीमित नभई, भत्किएको आत्मविश्वास पुनःनिर्माण गर्ने र नागरिक–प्रहरी सम्बन्धलाई अझ मजबुत बनाउने प्रयास हो।

उद्घाटन समारोहमा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी ईश्वर कार्की, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, कलाकार हरिवंश आचार्य र किरण केसी, संगीतकार योगेश्वरप्रसाद अमात्य, क्यान सचिव पारस खड्का, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतको सहभागिता थियो। साथै विभिन्न नगरपालिकाका प्रमुख–उपप्रमुख, वडाध्यक्ष, सुरक्षा निकायका पदाधिकारी, नागरिक समाज, युवा अभियन्ता, कलाकार, समाजसेवी, पूर्व प्रहरी कर्मचारी, विद्यार्थी र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रहरी–समुदाय साझेदारीमा योगदान पुर्‍याएका ५१ जना प्रतिनिधिमूलक व्यक्तिलाई आईजीपी कार्कीले कदर–पत्र प्रदान गरे। त्यस्तै, काठमाडौंका सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी +२ तहमा अध्ययनरत १६ जना विद्यार्थीलाई ‘प्रहरी सद्भावना दूत’ घोषणा गर्दै अभियानको सन्देश युवा पुस्तासम्म पुर्‍याउने जिम्मेवारी प्रदान गरिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत