बुधबार, फाल्गुन ६, २०८२

राष्ट्रियसभाका १८ सिटका लागि माघ ११ मा निर्वाचन, आज उम्मेदवार मनोनयन


कान्तिपथ


राष्ट्रियसभाका १९ जना सांसदको कार्यकाल आगामी फागुनमा सकिँदैछ। तीमध्ये १८ सिट रिक्त हुन लागेकाले आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन हुने भएको छ। निर्वाचन आयोगका अनुसार यसका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ।

कार्यकाल सकिन लागेका १९ सिटमध्ये १८ सिटमा निर्वाचन हुनेछ भने एक जना सांसद राष्ट्रपतिबाट मनोनित गरिने व्यवस्था छ। आगामी फागुनदेखि एमालेका आठ, नेकपाका आठ, जनता समाजवादी पार्टीका एक, लोकतान्त्रिक समाजवादी पार्टीका एक तथा एक मनोनित गरी कुल १९ सांसदको पदावधि समाप्त हुँदैछ।

रिक्त हुन लागेका सिटमध्ये वामदेव गौतम राष्ट्रपतिबाट मनोनित सांसद हुन्। उनको स्थानमा सरकारको सिफारिसमा राष्ट्रपतिले नयाँ सदस्य मनोनयन गर्नेछन्।

कार्यकाल सकिएर बिदा हुन लागेका नेकपाका सांसदमा नारायणकाजी श्रेष्ठ, गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, मायाप्रसाद शर्मा, राधेश्याम पासवान र बेदुराम भुसाल रहेका छन्। भुसाल तत्कालीन एकीकृत समाजवादीबाट राष्ट्रियसभा सदस्य बनेका थिए भने अन्य सात जना तत्कालीन माओवादी केन्द्रका सांसद हुन्।

यसैगरी एमालेबाट राष्ट्रियसभा सदस्य बनेका इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसीको पनि कार्यकाल सकिन लागेको छ।

जनता समाजवादी पार्टीका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंहको कार्यकाल पनि आगामी फागुनमा समाप्त हुँदैछ।

सरकारले माघ ११ गते आइतबार राष्ट्रियसभा निर्वाचनको मिति तोकेको छ। राष्ट्रियसभाका कुल ५९ सदस्यमध्ये १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो। कांग्रेस, एमाले, नेकपा, जसपालगायतका दलहरूले सिट बाँडफाँट गरी प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् र त्यसअनुसार आज उम्मेदवारी दर्ता गर्ने तयारीमा छन्।

कार्यकाल सकिन लागेका सांसदमा नेपाली कांग्रेसका भने कोही छैनन्। तर राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख–उपप्रमुख तथा गाउँपालिका अध्यक्ष–उपाध्यक्षले मतदान गर्ने व्यवस्था भएकाले कांग्रेस हाल मतभारमा सबैभन्दा अगाडि रहेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत