नेपाली सेनाका पूर्व उपरथी बाबुराम श्रेष्ठ सक्रिय राजनीतिमा प्रवेश गरेका छन्। ३७ वर्ष लामो सैनिक सेवाबाट अवकाश पाएपछि उनी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा आबद्ध भएका हुन्।
आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रलोपाका शीर्ष नेता डा. बाबुराम भट्टराई, जनार्दन शर्मा, सन्तोष परियारलगायतले श्रेष्ठलाई खादा ओढाएर पार्टीमा स्वागत गरेका थिए।
पार्टी प्रवेशका क्रममा श्रेष्ठले देशको वर्तमान जटिल अवस्था, नयाँ पुस्ताको संघर्ष र त्यागले आफूलाई राजनीतिमा आउन प्रेरित गरेको बताए। उनले भने, “यदि देशको राजनीतिक अवस्था सामान्य भएको भए म सेवा निवृत्त जीवनमै सन्तुष्ट रहने थिएँ। तर अहिलेको परिस्थितिले मलाई चुप लागेर बस्न दिएन। समाजमा फैलिएको विकृति र विसंगतिविरुद्ध आवाज उठाउन तथा आवाजविहीनहरूको पक्षमा उभिन म राजनीतिमा आएको हुँ।”
गोरखाको सिरानचोक गाउँपालिका–८, जौबारीका साधारण किसान परिवारमा जन्मिएका श्रेष्ठले २०३९ सालमा परोपकार आदर्श माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए। पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियरिङमा प्रवीणता प्रमाणपत्र तह पूरा गरेपछि उनी २०४४ सालमा सहायक सेनानीका रूपमा नेपाली सेनामा प्रवेश गरेका हुन्।
भारतको कलेज अफ मिलिटरी इन्जिनियरिङ, पुणेबाट विशिष्ट श्रेणीमा सिभिल इन्जिनियरिङमा स्नातक गरेका श्रेष्ठले भारत, पाकिस्तान तथा नेपाल (त्रिभुवन विश्वविद्यालय) बाट स्नातकोत्तर अध्ययनसमेत पूरा गरेका छन्। हाल उनी द्वन्द्व, शान्ति र विकास विषयमा विद्यावारिधि अध्ययनमा संलग्न छन्।
सेनामा रहँदा उनले गुल्मपति, गणपति, बाहिनीपति, पृतनापति तथा कमान्ड सेनापति जस्ता महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए। विशेषगरी त्रिशुली–शोम्दाङ्ग र बेनी–जोमसोम जस्ता पहाडी सडक निर्माण परियोजनामा करिब आठ वर्ष काम गर्दै विकास निर्माणमा प्रत्यक्ष योगदान पुर्याएका छन्। उनी २०८१ कात्तिक १ गते उपरथी दर्जाबाट सेवा निवृत्त भएका हुन्।


देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ