बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • प्रशासन
  • ट्राफिक सप्ताह–२०८२ को अवसरमा कोटेश्वरमा सचेतनामूलक प्रभातफेरी तथा र्‍याली सम्पन्न

ट्राफिक सप्ताह–२०८२ को अवसरमा कोटेश्वरमा सचेतनामूलक प्रभातफेरी तथा र्‍याली सम्पन्न


कान्तिपथ


काठमाडौं — सडक दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह–२०८२ को अवसरमा आज बुधबार काठमाडौंको कोटेश्वर–जडिबुटी क्षेत्रमा सचेतनामूलक प्रभातफेरी तथा र्‍याली कार्यक्रम सम्पन्न भएको छ। “समुदाय–प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत ‘हाम्रो प्रहरी’ अभियानका रूपमा आयोजना गरिएको उक्त कार्यक्रम सामुदायिक सेवा तथा विकास समाज, सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वर–३२, ट्राफिक प्रहरी प्रभाग कोटेश्वर, प्रहरी प्रभाग कोटेश्वर र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

कार्यक्रम नेपाल अरनिको यातायात सेवा प्रा.लि.को सहकार्यमा काठमाडौं महानगरपालिका–३२ जडिबुटीस्थित अरनिको बसपार्क परिसरबाट सुरु गरिएको थियो। सामुदायिक सेवा तथा विकास समाज एवं सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वरका अध्यक्ष रविन्द्र थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुनिल के.सी., उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी, प्रहरी वृत्त नयाँ बानेश्वरका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडा, काठमाडौं महानगरपालिका–३२ का वडा सदस्य हरि बस्नेतलगायतको विशिष्ट उपस्थिति रहेको थियो। साथै यातायात मजदुर संघ, विभिन्न सामुदायिक संस्था, युवा क्लब, विद्यालय, व्यवसायी, कलाकार, बुद्धिजीवी, मिडियाकर्मी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता थियो।

“सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी” भन्ने राष्ट्रिय नारासहित सम्पन्न कार्यक्रममा ट्राफिक नियम पालना, सुरक्षित सवारी सञ्चालन र दुर्घटना न्यूनीकरणमा सबैको साझा दायित्वबारे सन्देश प्रवाह गरिएको थियो। कार्यक्रममा कलाकार मनिष श्रेष्ठ र रोमा न्यौपानेले ट्राफिक सचेतनामूलक नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डीआईजी ओमप्रसाद अधिकारीले ट्राफिक प्रहरी र यातायात मजदुरहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै सबैले एकअर्कालाई बुझ्ने र सहकार्य गर्ने संस्कार विकास गर्नुपर्ने बताए। उनले राम्रो कामलाई सम्मान र गलत कार्यलाई बहिष्कार गर्ने संस्कृतिबाट मात्र सभ्य समाज निर्माण सम्भव हुने धारणा व्यक्त गरे।

कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख एसएसपी नवराज अधिकारीले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्य र ट्राफिक सप्ताहको महत्वबारे प्रकाश पारेका थिए। अन्त्यमा सभाध्यक्ष रविन्द्र थापाले सबै अतिथि तथा सहभागीप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत