लेटाङ — सडक दुर्घटना न्यूनीकरण र नागरिकको जीवन सुरक्षालाई प्राथमिकतामा राख्दै लेटाङ नगरपालिकामा ‘सडक अनुशासन तथा सवारी सुरक्षा अभियान–२०८२’ सञ्चालन गरिने भएको छ। इलाका प्रहरी कार्यालय, लेटाङको आयोजनामा उक्त अभियान मिति २०८२ साल माघ १ गतेदेखि माघ १० गतेसम्म १० दिनसम्म सञ्चालन हुनेछ।
अभियान लेटाङ नगरपालिका क्षेत्रभित्र केन्द्रित रहनेछ। यसमा लेटाङ नगरपालिका, उद्योग वाणिज्य संघ, यातायात व्यवसायी संघ तथा विभिन्न संघ–संस्थासहित सरोकारवाला निकायहरूको सहकार्य रहने आयोजकले जनाएको छ।
अभियानको मुख्य उद्देश्य लेटाङ क्षेत्रभित्र सडक सुरक्षासम्बन्धी न्यूनतम आवश्यक तथा आधारभूत संरचना र सामग्रीहरूको उपलब्धता तथा सुनिश्चितता गर्नु, सवारी दुर्घटना घटाउनु र नागरिकको जीवन सुरक्षालाई मजबुत बनाउनु रहेको छ। साथै, सडक अनुशासन र ट्राफिक नियम पालना गर्ने संस्कारलाई नागरिकस्तरमा सुदृढ रूपमा प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ।
यस अवधिमा ट्राफिक सचेतना कार्यक्रम, सवारी चालक तथा पैदलयात्रीलाई लक्षित अभिमुखीकरण, ट्राफिक नियम पालनाबारे जानकारीमूलक गतिविधि तथा आवश्यक समन्वयात्मक कार्यहरू सञ्चालन गरिने बताइएको छ। स्थानीय तह, व्यवसायी र नागरिकको सक्रिय सहभागिताले अभियान प्रभावकारी हुने विश्वास लिइएको छ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ