काठमाडौं । नेपालको आधुनिक राजनीतिक यात्रा व्यवस्था परिवर्तनको कथामा सीमित छैन, यो आम नागरिकको जीवनस्तर उकास्ने निरन्तर संघर्षको इतिहास पनि हो। केन्द्रीकृत राजतन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा नेकपा (माओवादी केन्द्र) को भूमिका उल्लेखनीय रहँदै आएको छ। यही पृष्ठभूमिमा अहिलेको चुनावी बहस व्यक्तिको भाषणभन्दा पनि उसले दिएको ठोस नतिजामा केन्द्रित हुन थालेको छ।
एक दशकअघिसम्म १८ घण्टाको लोडसेडिङ भोगेका नेपाली जनता आज विद्युत निर्यात गर्ने अवस्थामा पुगेका छन्। प्रचण्ड नेतृत्वको सरकारले कुलमान घिसिङलाई अघि सार्दै लिएको निर्णयपछि देश लोडसेडिङमुक्त मात्र भएन, आ.व. २०८१/८२ सम्म १७.४६ अर्ब रुपैयाँ बराबरको विद्युत निर्यात हुन सफल भएको छ। आगामी दिनमा थप १८.२६ अर्बको निर्यात लक्ष्यसहित ऊर्जा आत्मनिर्भरतर्फ देश अघि बढिरहेको छ।
त्यस्तै, मिटरब्याजी प्रथालाई अपराध घोषणा गर्दै आयोग गठन गरिएको, २१८ बिघा जग्गा पीडितलाई फिर्ता गरिएको र करिब ६ अर्ब रुपैयाँ बराबरको अवैध ऋणबाट नागरिक मुक्त गरिएको तथ्यलाई पनि स्थानीयहरू नतिजाको राजनीति भनेर हेर्न थालेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास, बाँसबारी छाला जुत्ता कारखाना र बालमन्दिर जग्गा फिर्ता प्रक्रियाजस्ता कदमलाई भ्रष्टाचारविरुद्धको ठोस कारबाहीका रूपमा लिइएको छ।
संघीयता र ‘गाउँ–गाउँमा सिंहदरबार’ को अवधारणाले आज ७५३ स्थानीय सरकारलाई अधिकारसहित क्रियाशील बनाएको छ। समावेशिताका हिसाबले वडा–वडामा ४१ प्रतिशत महिला तथा दलित महिलाको प्रतिनिधित्व हुनु पनि माओवादी आन्दोलनकै उपलब्धिका रूपमा चर्चा भइरहेको छ।
यही राष्ट्रिय बहसको प्रभाव भक्तपुर–२ मा पनि देखिन थालेको छ। यहाँ प्रतिनिधिसभा निर्वाचनमा युवाहरूको नेतृत्व गर्दै आएका महेश बस्नेत र माओवादी केन्द्रका उम्मेदवार रामप्रसाद सापकोटा ‘दिपशिखा’ आमनेसामने छन्। स्थानीयवासीहरूका अनुसार, लामो समयदेखि प्रतिनिधित्व गर्दै आएका महेश बस्नेतको विकल्प खोज्ने मतदाताको संख्या बढ्दो छ। यस्तो अवस्थामा नतिजामुखी राजनीति र परिवर्तनको एजेन्डा बोकेका रामप्रसाद सापकोटा ‘दिपशिखा’ बलियो विकल्प बन्न सक्ने अनुमान स्थानीयहरू लगाउन थालेका छन्।
स्थानीय मतदाताहरू भन्छन्, “अब भाषण होइन, नतिजा चाहियो।” लोडसेडिङको अन्त्य, भ्रष्टाचारविरुद्धको कारबाही, गरिबको जग्गा फिर्ता र सामाजिक न्यायका मुद्दाले दीपशिखाको पक्षमा माहोल बन्दै गएको उनीहरूको बुझाइ छ।
राजनीति गफ गर्ने थलो होइन, परिणाम दिने माध्यम हो भन्ने सन्देशसहित भक्तपुर–२ मा यसपटक चुनावी प्रतिस्पर्धा झनै रोचक बन्दै गएको छ। मतदाताहरू भावनाभन्दा पनि प्रमाण र नतिजाको आधारमा मत दिने मनस्थितिमा देखिएका छन्।



देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ