लेटाङ नगरपालिका क्षेत्रभित्र सडक सुरक्षा सम्बन्धी आधारभूत आवश्यकताहरूको सुनिश्चितता, सडक दुर्घटना न्यूनीकरण, नागरिकको जीवन सुरक्षाको सुनिश्चितता तथा सडक अनुशासन पालना गर्ने संस्कारको प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालन गरिएको सडक अनुशासन तथा सवारी सुरक्षा अभियान-२०८२ सफलतापूर्वक सम्पन्न भएको छ ।
इलाका प्रहरी कार्यालय लेटाङको आयोजनामा मिति २०८२।१०।०१ गतेदेखि मिति २०८२।१०।१० गतेसम्म सञ्चालन गरिएको १० दिने उक्त अभियानको समिक्षा कार्यक्रम लेटाङमा सम्पन्न भएको हो । समिक्षा कार्यक्रममा लेटाङ नगरपालिकाका नगर प्रमुख, उप-प्रमुख, उद्योग वाणिज्य संघका पदाधिकारीहरु, यातायात व्यवसायी संघका प्रतिनिधिहरु, सञ्चारकर्मी, युवा तथा स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो ।
अभियानको पहिलो दिन माघ १ गते गङ्गे चौकबाट कार्यक्रमको शुभारम्भ गर्दै ब्यारिकेट जडान, रिफ्लेक्टिभ टेप टाँस, सडक सुरक्षा समवन्धि जनचेतनामुल्क पर्चा पम्प्लेट वितरण तथा जनचेतनामूलक जिङ्गल प्रसारण गरिएको थियो । दश दिनको अभियान अवधिमा लेटाङ नगरपालिका क्षेत्रका मुख्य मुख्य प्रवेश मार्गहरूमा ब्यारिकेट जडान, लेटाङ, बुधबारे र जाँते बजार क्षेत्रमा नयाँ जेब्रा क्रसिङ निर्माण, सवारी आवागमन बढी हुने स्थानहरूमा होर्डिङ बोर्ड जडान, सवारी साधन, साइकल, पुल, घुम्ती, मोड तथा अँध्यारा क्षेत्रमा रिफ्लेक्टिभ टेप टाँस, दैनिक सडक सुरक्षा सम्बन्धी जिङ्गल प्रसारण, विद्यालय तथा समुदाय लक्षित सडक सुरक्षा कक्षा, चालक, पैदल यात्री र साइकल चालकलाई लक्षित प्रशिक्षण कार्यक्रम तथा घर-घरमा जनचेतनामूलक पर्चा-पम्प्लेट वितरण तथा इलाका प्रहरी कार्यालय लेटाङको आधिकारिक सामाजिक सञ्जालमार्फत सडक सुरक्षा सम्बन्धी सामग्री प्रकाशन गरिएको इलाका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी निरिक्षक सागर साहले जानकारी दिनुभएको छ ।
अभियानमार्फत सुरक्षित, मर्यादित र जिम्मेवार सवारी तथा पैदल यात्री व्यवहारको प्रवर्द्धनमा सकारात्मक प्रभाव परेको, सडक नियम पालना गर्ने संस्कारमा वृद्धि भएको तथा सडक दुर्घटना न्यूनीकरणमा योगदान पुगेको अनुभूति गरिएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।
अभियान सफल बनाउन सहयोग गर्ने लेटाङ नगरपालिका, यातायात व्यवसायी संघ, उद्योग वाणिज्य संघ, सञ्चारकर्मी, युवा तथा स्थानीय नागरिकप्रति इलाका प्रहरी कार्यालय लेटाङले हार्दिक आभार व्यक्त गरेको छ ।
इलाका प्रहरी कार्यालय, लेटाङले अभियान औपचारिक रूपमा समापन भए पनि सडक अनुशासन र सवारी सुरक्षा आगामी दिनमा पनि निरन्तर प्राथमिकतामा रहने स्पष्ट पार्दै, सडक नियमको पालना सबैको साझा जिम्मेवारी भएको सन्देश दिएको छ ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ