काठमाडौं । नेपाल प्रहरीकी खेलाडी राजपुरा पछाईंले खप्तडटिभीका पत्रकार गणेश विकलाई धम्की दिएको भन्ने विषयमा हाल केही अनलाइन तथा सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति गम्भीर आपत्ति जनाउँदै खण्डन गरिएको छ।
खण्डनमा भनिएको छ कि सामाजिक सञ्जालमा गरिएको सामान्य टिप्पणीलाई अतिरञ्जित रूपमा प्रस्तुत गर्दै “बर्दीको आडमा धम्की दिएको” भन्ने आरोप पूर्ण रूपमा असत्य, भ्रामक र एकपक्षीय हो। पत्रकार विकले फेसबुकमा गरेको स्टाटसमा कुनै नाम, ठेगाना वा पहिचान उल्लेख नगरिएको अवस्थामा त्यसलाई आधार मानेर प्रहरी संगठनमा आबद्ध एक खेलाडीमाथि गम्भीर आरोप लगाइनु अनुचित भएको खण्डनमा उल्लेख छ।
नेपाल प्रहरी संगठनको अनुशासन, मर्यादा र कानुनी मूल्य–मान्यतामा विश्वास गर्दै आएकी राजपुरा पछाईंले कुनै पनि अवस्थामा पत्रकारलाई डर, धम्की वा दबाब दिने मनसाय नराखेको स्पष्ट पारिएको छ। सामाजिक सञ्जालमा भएका सीमित र व्यक्तिगत संवादलाई तोडमोड गरी प्रेस स्वतन्त्रतामाथिको आक्रमणको रूपमा चित्रण गर्नु तथ्यसँग मेल नखाने खण्डनमा जनाइएको छ।
खण्डनमा थप भनिएको छ, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सम्मान सबैले गर्नुपर्ने भए पनि, पुष्टि नभएका आरोपका आधारमा व्यक्तिको चरित्रहत्या गर्नु पत्रकारिताको आचारसंहिताविपरीत हो। यस घटनासम्बन्धी कुनै पनि आधिकारिक छानबिन, निष्कर्ष वा निर्णय सार्वजनिक नभइसकेको अवस्थामा समाचार प्रकाशन गर्नु गैरजिम्मेवारपूर्ण कार्य भएको जनाइएको छ।
सम्बन्धित निकायबाट आवश्यक छानबिन भए त्यसमा पूर्ण सहयोग रहने जनाउँदै तथ्य पुष्टि नगरी प्रकाशित भ्रामक समाचार सच्याउन तथा हटाउन सम्बन्धित सञ्चारमाध्यमसँग आग्रह गरिएको छ।
खण्डनमा अन्त्यमा भनिएको छ कि व्यक्तिगत बुझाइ वा सामाजिक सञ्जालका सीमित प्रतिक्रियालाई आधार बनाएर सम्पूर्ण प्रहरी संगठन तथा खेलाडीको प्रतिष्ठामा आँच पुर्याउने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट गरिएको छ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ