हेटौँडा । नेपाली कम्युनिष्ट पार्टीले मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका विभिन्न वडामा अगुवा कार्यकर्ता भेला तथा निर्वाचन प्रचार–प्रसार कार्यालय उद्घाटन गरेसँगै स्थानीय चुनावी वातावरण थप उत्साहित बनेको छ।
आज हेटौँडा उपमहानगरपालिकाका चार वटा वडामा एकैसाथ कार्यक्रम सम्पन्न भएका छन्। हेटौँडा–१२ हात्तिगौडा, हेटौँडा–१३ पदमपोखरी चोक, हेटौँडा–१४ मयुरधाप चोक र हेटौँडा–७ नागस्वती चोकमा आयोजित कार्यक्रममा उल्लेख्य संख्यामा कार्यकर्ता तथा समर्थकहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विजय गौतमले यस निर्वाचनलाई साधारण जित–हारको प्रतिस्पर्धा नभई वडा, क्षेत्र र देश परिवर्तन गर्ने अभियानको रूपमा चित्रण गरे। “हामी साँचो र मानका लागि मैदानमा छौँ। यो परिवर्तनको अभियान हो, त्यसैले घर–घरमा पुगेर यो सन्देश फैलाउन आवश्यक छ,” उनले भने।
गौतमले सुशासन र सशक्त कार्यकारी व्यवस्थालाई वर्तमान राजनीतिको मुख्य आवश्यकता भएको उल्लेख गर्दै उत्पीडित वर्ग, जाति, क्षेत्र र श्रमिक समुदायका अधिकार स्थापित गर्न पार्टी दृढ रहेको बताए। “मैले कहिल्यै तपाईंहरूको शिर झुक्ने काम गरेको छैन र गर्ने पनि छैन,” उनले थपे, “मेरा सबै कदम तपाईंहरूको शिर उच्च हुने दिशामै हुनेछन्।”
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तान, केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’, केन्द्रीय सदस्यहरू प्रल्हाद लामिछाने, ध्रुवकुमार भुजेल, मिनाकुमारी लामा तथा बागमती प्रदेश सचिवालय सदस्य ललित घलानलगायतका नेताहरूले सम्बोधन गरेका थिए। उनीहरूले पार्टीको राजनीतिक एजेन्डा, संगठन सुदृढीकरण र घरदैलो अभियानलाई प्रभावकारी बनाउने विषयमा जोड दिएका थिए।
त्यसैगरी, बागमती प्रदेश सदस्यहरू रामजी नेपाल, माधव तिमल्सिना र मकवानपुर संयोजक भीम पाख्रिनले पनि मन्तव्य राख्दै टोल–टोल र घर–घरमा पुगेर पार्टीको नीति र उम्मेदवारको प्रतिबद्धता जनतामाझ पुर्याउन कार्यकर्तालाई आह्वान गरे।
नेताहरूले समय कम रहेकाले वडा बैठक, टोल बैठक र घरदैलो अभियानलाई तीव्र गतिमा अघि बढाउनुपर्नेमा जोड दिए। बागमती, बकैया र हेटौँडामा सुरु भएको अभियानले सकारात्मक सन्देश दिएको उल्लेख गर्दै विजय गौतमको जित सुनिश्चित गर्न एकताबद्ध भएर अघि बढ्न सबैलाई आग्रह गरिएको थियो।
कार्यक्रममा सहभागी कार्यकर्ताहरूले चुनावी अभियानलाई अझ सशक्त बनाउँदै जनताको बीचमा पार्टीको नीति, कार्यक्रम र उम्मेदवारको प्रतिबद्धता प्रभावकारी रूपमा पुर्याउने संकल्प व्यक्त गरे।
हेटौँडा–१२ हात्तिगौडामा रामहरी पोखरेलको अध्यक्षता, हेटौँडा–१३ पदमपोखरी चोकमा सूर्यबहादुर छुमीको अध्यक्षता, हेटौँडा–१४ मयुरधाप चोकमा सानुकान्छा रुम्बाको अध्यक्षता तथा हेटौँडा–७ नागस्वती चोकमा बासुदेव कटुवालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएका थिए।


देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ