काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एआईजी शिद्धी विक्रम शाहले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन बागमती प्रदेश प्रहरीलाई कडा निर्देशन दिएका छन्।
निर्वाचन लक्षित सुरक्षा योजना, जनशक्ति परिचालन तथा समन्वय अवस्थाको समीक्षा गर्दै एआईजी शाहले तोकिएको जिम्मेवारी उच्च सतर्कता र पेशागत अनुशासनका साथ निर्वाह गर्न निर्देशन दिएका हुन्। उनले निर्वाचनजस्तो संवेदनशील प्रक्रियामा कुनै पनि प्रकारको त्रुटि स्वीकार्य नहुने स्पष्ट पारे।
शाहले मतदान केन्द्रको सुरक्षा, संवेदनशील क्षेत्रको पहिचान, सम्भावित जोखिमको पूर्वआकलन तथा सूचना संकलन प्रणालीलाई प्रभावकारी बनाउन जोड दिएका थिए। साथै, स्थानीय प्रशासन, अन्य सुरक्षा निकाय र सरोकारवाला निकायसँग समन्वय मजबुत राखेर काम गर्न निर्देशन दिए।
उनले प्रहरी संगठनको व्यावसायिक छवि र जनविश्वास कायम राख्दै पूर्ण तटस्थताका साथ परिचालित हुन आग्रह गरे। “निर्वाचन लोकतन्त्रको आधार हो, यसलाई सुरक्षित बनाउने जिम्मेवारी प्रहरीको काँधमा छ,” उनले भने।
बागमती प्रदेश प्रहरी नेतृत्वले निर्देशनअनुसार सुरक्षा तयारीलाई थप सुदृढ बनाइने जनाएको छ।



देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ