काठमाडौं । निर्वाचन आयोग ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मतगणना सुरु भएको २४ घन्टाभित्र सम्पन्न गर्ने दाबी गरेको छ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पत्रकार सम्मेलनमार्फत मतपेटिका संकलन भएपछि २४ घन्टाभित्र प्रत्यक्षतर्फको परिणाम सार्वजनिक गरिसक्ने बताए। प्रत्यक्षतर्फको मतगणना सकिएपछि समानुपातिकतर्फको गणना सुरु गरिने जानकारी पनि उनले दिए।
आयोगले १ सय ६५ निर्वाचन क्षेत्रमा मतगणनासम्बन्धी परिपत्र पठाइसकेको जनाएको छ। मतगणना छिटो र व्यवस्थित बनाउन आवश्यक प्राविधिक तयारी पूरा गरिएको तथा मतगणना स्थलमा तारजाली र सिसिटिभी जडान गरिएको आयोगले स्पष्ट पारेको छ।
पहाडी तथा दुर्गम क्षेत्रबाट मतपेटिका छिटो संकलन गर्न हेलिकप्टर प्रयोग गरिने भण्डारीले बताए। १५ जिल्लाका ६१ स्थानबाट मतदानपश्चात् मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत संकलन गरिनेछ।
आयोगले मतपेटिका सुरक्षाको परम्परागत प्रणालीमा कुनै परिवर्तन नगरिएको जनाएको छ। सुरक्षा व्यवस्थामा नेपाली सेना तेस्रो घेरामा रहनेछ। मतपेटिका दलका प्रतिनिधिको लाहछापसहित सुरक्षित राखिने र मतगणना सुरु गर्नुअघि सो छाप ठीक रहेको पुष्टि भएपछि मात्र गणना सुरु गरिने आयोगको भनाइ छ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ