बुधबार, चैत्र २५, २०८२

दाङका दुई मतदान केन्द्रमा तीन घण्टासम्म पनि मतदान सुरु हुन सकेन


कान्तिपथ


दाङ । मतदान सुरु भएको तीन घण्टाभन्दा बढी समय बितिसक्दा पनि दाङका दुई मतदान केन्द्रमा मतदान प्रक्रिया सुरु हुन सकेको छैन।

बबई गाउँपालिका–१ जिलास्थित जनता आधारभूत विद्यालय र वडा नम्बर ७ तल्लो मलैखोला स्थित देउती माध्यमिक विद्यालय मलैखोलामा अहिलेसम्म एक पनि मत खस्न सकेको छैन।

जनता आधारभूत विद्यालय जिलाका मतदान अधिकृत चिरञ्जीवी खड्काका अनुसार मतदानका लागि सम्पूर्ण तयारी पूरा भएर कर्मचारीहरू केन्द्रमा उपस्थित भए पनि मतदाता भने मतदान गर्न आएका छैनन्। उक्त केन्द्रमा ६८२ जना मतदाता रहेको उनले जानकारी दिए।

त्यस्तै, देउती माध्यमिक विद्यालय मलैखोला मतदान केन्द्रमा पनि मतदान सुरु हुन नसकेको मतदान अधिकृत टेकबहादुर केसीले बताए।

स्थानीय बासिन्दाले आफूहरू बसोबास गरिरहेको क्षेत्र बाँके राष्ट्रिय निकुञ्ज को मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले बस्ती स्थानान्तरणको माग राख्दै निर्वाचनमा सहभागी नहुने अडान लिएका छन्।

मतदातालाई मतदानमा सहभागी गराउने प्रयास भइरहेको भए पनि उनीहरू अझै मतदान प्रक्रियामा सहभागी नभएको दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताए। आन्दोलनरत स्थानीयका कारण बबई–७ देउती मावि मलैखोला र बबई–१ जनता आवि जिल्ला मतदान केन्द्रमा अहिलेसम्म मत खस्न नसकेको प्रशासनले जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत