काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले धनुषा क्षेत्र नम्बर–१ मा आफ्ना उम्मेदवार निर्वाचित भइसकेको दाबी गर्दै निर्वाचन आयोग ले प्रमाणपत्र नदिएको भन्दै आपत्ति जनाएको छ।
पार्टीका केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्य द्वारा जारी विज्ञप्तिमा आयोगकै निर्देशनअनुसार फागुन २२ गते सबै उम्मेदवारका प्रतिनिधिको उपस्थितिमा मतगणना सम्पन्न भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी भइसकेको दाबी गर्दै पनि प्रमाणपत्र दिन ढिलाइ गरिएको तथा निर्वाचन प्रक्रिया विपरीत काम भइरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ। साथै, कानुनी रूपमा उम्मेदवारी खारेज भइसकेको व्यक्तिका कारण परिणाम रोक्नु उचित नहुने पनि पार्टीले जनाएको छ।
यसअघि आयोगले सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह को उम्मेदवारी खारेज गरेको थियो। तर, अदालतको आदेश नआउँदासम्म नतिजा सार्वजनिक नगर्न निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ।
रास्वपाको मत देखिएपछि परिणाम घोषणा प्रक्रिया रोकिएको बताइएको छ, जबकि नेकपाले भने आफ्ना उम्मेदवार यादव निर्वाचित भएको दाबी दोहोर्याएको छ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ