काठमाडौं । जोन्टा क्लब काठमाडौँ ले विश्व कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जन लाई सम्मान गरेको छ।
महर्जनले विश्वकै सर्वोच्च शिखर सगरमाथा को दुवै मोहडाबाट सफल आरोहण गर्दै कीर्तिमान कायम गर्नुका साथै शिक्षा मार्फत बालविवाह रोकथाम र मानव बेचबिखनविरुद्ध अभियानमा सक्रिय योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको हो।
यसअघि अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारतको विहार राज्यस्थित दरभङ्गामा आयोजित ‘मातृशक्ति सम्मेलन’ मा पनि महर्जन सम्मानित भएकी थिइन्।
ललितपुरको सिद्धिपुरमा जन्मिएकी कल्पना महर्जन नेपालकी एक चर्चित सगरमाथा आरोही, पत्रकार तथा सामाजिक अभियन्ता हुन्। परम्परागत नेवार कृषि परिवारमा हुर्किएकी उनले सानैदेखि लैङ्गिक विभेदलाई चुनौती दिँदै महिलाले पनि असम्भव देखिने काम गर्न सक्छन् भन्ने सोच विकास गरिन्।
उनले सन् २००४ बाट पर्यटन पत्रकारिताबाट आफ्नो करियर सुरु गरिन्। पर्वतारोहणप्रतिको आकर्षणले उनलाई हिमाल चढ्ने यात्रातर्फ डोर्यायो। सन् २०१४ मा मकालु क्षेत्रको मेरा पिक आरोहणका क्रममा गम्भीर उचाइ रोगका कारण कोमामा पुगे पनि उनले हिम्मत हारिनन् र पुनः आरोहणमा फर्किइन्।
कल्पनाले सन् २०१८ मा पहिलो पटक सगरमाथा को दक्षिण मोहडाबाट सफल आरोहण गरिन्। त्यसको एक वर्षपछि २०१९ मा उत्तरी मोहडाबाट पनि सफल आरोहण गर्दै दुवै मोहडाबाट सगरमाथा चढ्ने विश्वकै पहिलो महिला पत्रकार बन्न सफल भइन्।
उनको यो उपलब्धिका लागि उनलाई ‘वर्ल्ड बुक अफ रेकर्ड्स’ द्वारा सम्मानित गरिएको छ।
पर्वतारोहणसँगै उनी सामाजिक अभियन्ताका रूपमा पनि सक्रिय छिन्। विशेषगरी बालविवाह रोकथाम, महिला शिक्षा प्रवर्द्धन तथा मानव बेचबिखनविरुद्ध उनले अभियान सञ्चालन गर्दै आएकी छन्। उनले विद्यालयस्तरमा सचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै खेलकुद, विशेषगरी स्पोर्ट क्लाइम्बिङमार्फत युवालाई प्रेरित गरिरहेकी छिन्।
हाल उनी पर्वतारोहणसँग सम्बन्धित विभिन्न जिम्मेवारीमा संलग्न हुनुका साथै नयाँ पुस्तालाई साहसिक खेलतर्फ आकर्षित गर्न र सामाजिक परिवर्तनका लागि निरन्तर काम गरिरहेकी छिन्।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ