काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी ले आफ्नै नेताकार्यकर्ताले ‘घण्टी’ चुनाव चिह्नमा मतदान गरेको आशंका बढेपछि कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
पार्टीले केन्द्रीय सदस्य, प्रदेश सदस्य तथा कार्यकर्तामध्ये कसले भोट नहाले वा अन्य चिह्नमा मतदान गरे भन्नेबारे तल्लो तहबाट विस्तृत विवरण माग गरेको जनाएको छ।
पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले जनवर्गीय संगठनका नेताहरूलाई सम्बोधन गर्दै पार्टीभित्र अनुशासन उल्लंघन गर्नेहरूलाई छुट नदिइने स्पष्ट पारे। उनले क्षेत्रमै नगएका, मतदान नगर्ने वा ‘घण्टी’ चिह्नमा भोट हाल्नेहरूलाई छानबिन गरेर कारबाही गरिने बताएका छन्।
उनका अनुसार कारबाहीको प्रक्रिया केन्द्रीय सदस्यबाटै सुरु गरिनेछ। ‘को-कोले भोट हालेनन्, को-कोले घण्टीमा मतदान गरे भन्ने ठोस विवरण आवश्यक छ,’ उनले भने, ‘अनुशासनहीनता नियन्त्रण नगरी पार्टी सुदृढ हुन सक्दैन।’
प्रारम्भिक रूपमा करिब ५० प्रतिशतसम्म मत ‘घण्टी’मा गएको भन्ने रिपोर्ट आएको उल्लेख गर्दै उनले वास्तविक विवरण संकलन गरी कडा कदम चालिने बताएका छन्।
पार्टीभित्र देखिएको यस्तो गतिविधिलाई गम्भीर रूपमा लिँदै नेतृत्वले यसैबाट संगठन पुनर्गठनको प्रक्रिया अघि बढाउने संकेत समेत दिएको छ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ