यातायात व्यवस्था विभागले विभिन्न जिल्लाका करिब १ लाख ८८ हजार थान सवारी चालक अनुमति पत्र (लाइसेन्स) हुलाकमार्फत पठाउने तयारी गरेको छ। जेनजी आन्दोलनपछि पहिलो पटक नियमित तर्फको लाइसेन्स छपाइ सम्पन्न भएपछि वितरण प्रक्रिया अघि बढाइएको हो।
भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा विभागको लाइसेन्स छपाइ मेसिनमा क्षति पुगेका कारण करिब २० दिनसम्म अत्यावश्यक बाहेकका लाइसेन्स छपाइ पूर्ण रूपमा अवरुद्ध भएको थियो। झण्डै सात महिनापछि पुनः नियमित छपाइ सुरु भई तयार भएका लाइसेन्सहरू सम्बन्धित जिल्लामा पठाउन लागिएको विभागले जनाएको छ।
ताप्लेजुङ, पाँचथर, इलाम, डोटी, अछाम लगायतका जिल्लाका लाइसेन्स हुलाकमार्फत पठाइनेछन्। विभागका आईटी निर्देशक केशव खतिवडाका अनुसार छपाइ सम्पन्न भएका लाइसेन्सको विवरण सार्वजनिक गरिनेछ भने सम्बन्धित कार्यालयहरूले पनि प्राप्त भएपछि जानकारी दिनेछन्।
विभागले यसअघि पनि टाढाका जिल्लामा हुलाकमार्फत लाइसेन्स पठाउने व्यवस्था गर्दै आएको र नजिकका कार्यालयहरूमा भने सिधै पुर्याउने प्रचलन रहेको जनाएको छ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ