काठमाडौं — सरकारले भारतसहित ६ देशमा कार्यरत नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार राजनीतिक नियुक्तिका आधारमा पठाइएका राजदूतहरूलाई फिर्ता बोलाइएको हो। फिर्ता बोलाइएकामध्ये भारतका लागि राजदूत डा. शङ्करप्रसाद शर्मा, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाङ्फे र अस्ट्रेलियाका लागि चित्रलेखा यादव रहेका छन्।
त्यस्तै, श्रीलङ्का, डेनमार्क र दक्षिण अफ्रिकाका लागि नियुक्त राजदूतहरू डा. पूर्णबहादुर नेपाली, सुम्निमा तुलाधर र कपिल श्रेष्ठलाई पनि फिर्ता बोलाइएको छ। उनीहरू अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका थिए।
यस निर्णयसँगै १७ देशमा नेपाली दूतावासहरू राजदूतविहीन भएका छन्। परराष्ट्र मन्त्रालयले रिक्त स्थानमा छिट्टै नयाँ नियुक्ति गर्ने तयारी भइरहेको जनाएको छ। फिर्ता बोलाइएका राजदूतलाई एक महिनाभित्र फर्किन समय दिइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारले राजनीतिक नियुक्ति लिएका पदाधिकारीलाई मार्गप्रशस्त गर्न आग्रह गरे पनि राजीनामा नआएपछि फिर्ता बोलाउने निर्णय लिएको हो।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ