बुधबार, बैशाख २, २०८३

संसारलाई रुवाउन सक्ने ‘आँसुको द्वार’ अर्थात् बाब अल–मान्डेब


कान्तिपथ


तपाईंले ‘स्ट्रेट अफ हर्मुज’ (हर्मुज जलडमरु) को नाम कहिल्यै सुन्नुभएको थिएन भने पनि सम्भवतः अहिले सुनिसक्नुभएको हुनुपर्छ। संसारको कुल तेल र ग्यासमध्ये २० प्रतिशतभन्दा धेरै वारपार हुने हर्मुज जलडमरुमा इरानले गरेको कडाइका कारण वैश्विक अर्थतन्त्रमा ज्यादै ठूलो दबाब परेको छ।

हर्मुजमा भएको कडाइको दुःख झेल्दै गर्दा केही विश्लेषकहरू अर्को नयाँ ‘फ्ल्यासपोइन्ट’ देखापर्ने चेतावनी दिन थालेका छन्। त्यो हो– बाब अल–मान्डेब स्ट्रेट।

गत मार्चको २८ तारिखमा हुथीहरूले अहिले पश्चिम एसियामा चलिरहेको युद्धमा प्रवेश गरेको सङ्केत गरेका छन्। यी विद्रोहीहरू इरानको पक्षमा छन्। उत्तरी यमनमा उनीहरूको कब्जा छ। इरान युद्ध सुरु भएयता २८ मार्चमा पहिलोपटक उनीहरूले इजरायलमा क्षेप्यास्त्र प्रहार गरेका छन्।

यमन बाब अल–मान्डेबको किनारामा अवस्थित छ। हुथीहरूले यसअघि नै सन् २०२३ र २०२४ मा लाल सागरमा यात्रारत जहाजहरूमा हमला गरेर ठूलो अवरोध सिर्जना गरिसकेका छन्। समाचार संस्था ब्लुमबर्गले प्रकाशन गरेको प्रतिवेदनअनुसार इरानले अहिले त्यस्तै अभियानका लागि हुथीहरूलाई आग्रह गरेको छ।

आगामी दिनमा सबैको ध्यान बाब अल–मान्डेब तथा लाल सागरमा केन्द्रित हुनेवाला छ। स्ट्रेट अफ हर्मुजको झट्कापश्चात् दोस्रो ठूलो अवरोधले विश्व अर्थतन्त्रमा कस्तो असर पार्न सक्छ भन्नेबारे यस आलेखमा चर्चा गर्ने प्रयत्न गरिएको छ।

के हो बाब अल–मान्डेब स्ट्रेट ?

बाब अल–मान्डेब अरबी प्रायद्वीप र अफ्रिकाको बीचमा रहेको साँघुरो गल्छी हो। यसको अरबी भागमा यमन पर्छ भने अफ्रिकी भागमा इरिट्रिया र जिबुटी पर्छन्। गल्छीको सबैभन्दा साँघुरो भाग जम्मा ३० किलोमिटर चौडा छ। अरेबिक नाम बाब अल–मान्डेबको शाब्दिक अर्थ ‘गेट अफ टियर्स’ अर्थात् ’आँसुको द्वार’ हुन्छ। परापूर्वकालमा यहाँबाट वारपार गर्नका लागि भोग्नुपर्ने पीडाकै कारण यसको नाम यस्तो पर्न गएको हो।

आजका दिनमा पनि यो गल्छीको महत्त्व घटेको छैन। यस गल्छीको बाटो हुँदै इजिप्टमा रहेको स्वेज नहरबाट जहाजहरू सोझै भूमध्यसागर पुग्न सक्छन्। भूमध्यसागर र हिन्द महासागरलाई जोड्ने यी दुई गल्छी र नहरहरूको बीचमा लाल सागर तथा अडेनको खाडी (गल्फ अफ अडेन) पर्छन्।

१९औँ शताब्दीमा स्वेज नहर खुल्नुअघिसम्म जहाजहरू दक्षिण अफ्रिकाको पुछारबाट घुमेर मात्रै एसिया–युरोपको यात्रा तय गर्न सक्थे। स्वेज नहर खुलेपछि भने भूमध्यसागर र लाल सागर आपसमा जलमार्गबाटै जोडिए, जसले यात्रालाई धेरै कम समयमा झारिदियो। उदाहरणका लागि तेल बोकेर साउदी अरबबाट नेदरल्यान्ड जाने ट्याङ्कर दक्षिण अफ्रिका घुमेर जानुपर्दा २० हजार किलोमिटरको दूरी पार गर्नुपर्ने हुन्छ। तर लाल सागरको बाटो जाँदा भने १२ हजार ५ सय किलोमिटरको यात्रामै नेदरल्यान्ड पुग्छ।

निश्चय पनि यो धेरै छोटो बाटो हो। अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार अरब सागरबाट दक्षिण अफ्रिका हुँदै नेदरल्यान्ड पुग्न ३४ दिन लाग्छ तर त्यही यात्रा लाल सागरबाट गर्दा भने १९ दिनमै पूरा हुन्छ।

  • बाब अल–मान्डेबबाट कस्ता वस्तु पार हुन्छन् ?

सामान्य समयमा यहाँबाट वैश्विक सामुद्रिक व्यापारको १४ प्रतिशत ओहोरदोहोर हुन्छ। यसरी वारपार हुने वस्तुहरूको पूरा विवरण उपलब्ध छैन। तर त्यसको सबैभन्दा ठूलो हिस्सा जीवाश्म इन्धनले लिन्छ भन्ने चाहिँ पक्का छ।

अन्तर्राष्ट्रिय ऊर्जा संस्था (आईईए) को अनुमानअनुसार सन् २०२५ मा ४ करोड २० लाख ब्यारेल कच्चा तेल तथा पेट्रोलियम पदार्थ यहाँबाट वारपार भएको थियो। यो मात्रा कुल वैश्विक उत्पादनको ५ प्रतिशत हो। सबै जहाजहरू स्वेज नहरकै बाटो भएर पार हुने हुँदा स्वेज नहर प्राधिकरणले दिएको आधिकारिक तथ्याङ्कले हामीलाई लाल सागरबाट हुने जहाज आवागमनबारे विस्तृत विवरण दिन्छ।

सन् २०२५ को अन्तिम त्रैमासिकमा स्वेज नहरबाट वारपार भएका ३४ सय २५ जहाजमध्ये ४० प्रतिशतले जीवाश्म इन्धन बोकेका थिए। जसमा १३ सय ३० तेल ट्याङ्कर थिए भने ८८ वटा एलएनजी ग्यास बोकेका ट्याङ्कर थिए। अर्को ४० प्रतिशत अर्थात् १३ सय ३९ वटा कार्गो जहाजहरू थिए। जसमा मकै, गहुँ र भटमासलगायत कृषिजन्य सामग्री तथा कोइला र कच्चा फलाम थिए। १३ प्रतिशत अर्थात् ४ सय ५९ वटा भने कन्टेनर जहाज थिए।

सन् २०२३ र २०२४ मा हुथीहरूको आक्रमणपश्चात् लाल सागरको बाटोबाट हुने ढुवानीमा केही कमी आएको थियो। अहिले त्यस क्षेत्रबाट खासै आक्रमणका खबरहरू आएका छैनन्।

  • बाब अल–मान्डेब बन्द हुन सक्छ ?

बाब अल–मान्डेब पूर्ण रूपमा बन्द गर्न सम्भव छैन। यसको सबैभन्दा साँघुरो भाग पनि जलमार्गका लागि फराकिलो नै छ। स्ट्रेट अफ हर्मुज र यसमा केही फरक छ। हर्मुजमा जस्तो यहाँ एउटामात्रै क्षेत्रबाट ओहोरदोहोर गर्नुपर्ने बाध्यता छैन। बाब–अल मान्डेबमा रोकिने धेरै जहाजहरू स्वेज नहर हुँदै भूमध्यसागर पुग्न सक्छन्।

एसियामा जाने र आउने जहाजले भने अफ्रिकाको बाटो घुमेर आउनुपर्ने हुन्छ, जसले गर्दा यात्रा थप केही हप्ता लामो हुन्छ।

साउदी अरबले हर्मुजको समस्यालाई ध्यानमा राखेर ‘प्लान बी’ तयार गरेको छ, जसलाई ‘पूर्व–पश्चिम पाइपलाइन’ भनिन्छ। पाइपलाइनले उत्तरमा रहेको अद्काइबलाई लाल सागरको किनारमा रहेको यान्बुसँग जोड्छ। इरान युद्धलगत्तै उक्त पाइपलाइनबाट तेल पठाउन थालिसकिएको छ। पाइपलाइनले करिब पूर्ण क्षमतामा काम गर्दैछ।

निकासको यो नयाँ बाटोबाट एसिया जाने तेल भने लामो बाटोबाट बच्न बाब अल–मान्डेब हुँदै नै जानुपर्ने हुन्छ। त्यसो हुँदा एसिया आउने तेल र ग्यासको बाटो भने बाब अल–मान्डेबमा अवरुद्ध हुन सक्छ।

यसअघिको अनुभव

हुथीहरूको सम्भावित आक्रमणका कारण लाल सागरमा कस्तो अवरोध आउँछ भन्नेबारे बुझ्न हामीले पछिल्ला केही सङ्कटहरूलाई नियालेर हेर्नुपर्ने हुन्छ। समुद्री पारवहनबारे काम गर्ने अन्तर्राष्ट्रिय सङ्गठनका अनुसार सन् २०२३ को नोभेम्बर र २०२४ को सेप्टेम्बरबीचमा ६७ वटा आक्रमणका घटनाहरू रेकर्ड गरिएका थिए। आक्रमणमा केही जहाजहरूले आफ्ना उपकरणमा न्यून क्षति भोगेका थिए। तर अन्यले भने क्षेप्यास्त्र वा ड्रोनको प्रहारलगत्तै गम्भीर आगलागी र ठूलो क्षतिको सामना गर्नुपरेको थियो।

सन् २०२४ यता भने तुलनात्मक रूपमा आक्रमणहरू कम भएका छन्। बाब अल–मान्डेब कहिल्यै पनि पूर्ण रूपमा बन्द भएन। केही जहाजहरू सङ्कटको अवधिमा पनि वारपार गरिरहेकै थिए।

अहिले पनि पुरानै शैलीका रणनीतिहरू लागू हुन सक्छन्। जहाज कम्पनीहरूका लागि भने आक्रमणको धम्कीले मात्रै पनि जहाज सञ्चालन रोक्न वा कम गर्न काफी हुनसक्छ। जहाजको चालक दलका सदस्यहरूलाई धेरै ठूलो जोखिम हुनसक्छ। उनीहरूको जीवन नै अप्ठेरोमा पर्न सक्छ।

यसका अलावा बिमाका लागि हुने खर्चले पनि आक्रमणका दौरान यस क्षेत्रबाट हुने आवतजावतलाई असहज बनाइदिन्छ। सन् २०२४ मा बिमाको लागत जहाजको कार्गोको मूल्यको तुलनामा ०.६ प्रतिशत थियो। लाल सागरमा तनाव बढेसँगै त्यस्तो लागत बढेर २ प्रतिशत पुग्यो।

स्ट्रेट अफ हर्मुज र बाब अल–मान्डेब एकैसाथ बन्द भएको अवस्थामा विश्वव्यापी आपूर्ति शृङ्खला र वैश्विक अर्थतन्त्र दुवैमा गम्भीर असर पर्नेछ।

(साउथ चाइना मर्निङ पोस्टबाट)



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत