बुधबार, असार ३१, २०८३
  • गृहपृष्‍ठ
  • ब्लग
  • गङ्गादशहरा अवसरमा गोसाइँकुण्ड मेला सुरु, हजारौँ भक्तजन आउने अपेक्षा

गङ्गादशहरा अवसरमा गोसाइँकुण्ड मेला सुरु, हजारौँ भक्तजन आउने अपेक्षा


अमर श्रेष्ठ


हिमालको काखमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा गङ्गादशहरा पर्वको अवसरमा वार्षिक विशेष मेला सुरु भएको छ। हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिने यस तीर्थस्थलमा भगवान् शिवको दर्शन र पवित्र स्नानका लागि देश–विदेशबाट भक्तजन पुग्न थालेका छन्।

जेठ ३ गतेदेखि सुरु भएको मेला जेठ १२ गतेसम्म सञ्चालन हुनेछ। चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाका अनुसार हालसम्म तीन सयभन्दा बढी तीर्थयात्री गोसाइँकुण्ड क्षेत्रमा पुगिसकेका छन्। यस वर्ष करिब पाँच हजार भक्तजन सहभागी हुने अनुमान गरिएको छ।

धार्मिक विश्वासअनुसार समुद्र मन्थनका क्रममा निस्किएको कालकूट विषले सृष्टिमा संकट निम्तिएपछि भगवान् शिवले उक्त विष आफ्नै कण्ठमा धारण गरेका थिए। विषको ताप कम गर्न हिमालय पुगेका शिवले त्रिशूल प्रहार गर्दा निस्किएको जलबाट गोसाइँकुण्ड बनेको जनविश्वास रहेको छ।

गङ्गादशहराका दिन गोसाइँकुण्डमा स्नान गर्दा १० प्रकारका पाप नष्ट हुने तथा जनैपूर्णिमामा स्नान गर्दा जन्मजन्मान्तरका दोष समाप्त हुने धार्मिक मान्यता छ। समुद्री सतहदेखि करिब १४ हजार १०० फिट उचाइमा रहेको गोसाइँकुण्ड पुग्न कठिन भए पनि स्नानपछि सम्पूर्ण थकान हराउने अनुभव भक्तजनले सुनाउने गरेका छन्।

यात्रा मार्ग र सुरक्षा व्यवस्था

काठमाडौँको बालाजुबाट सुरु हुने यात्रा शिवपुरी, छहरे, ढुङ्गे, बेत्रावती, कालिकास्थान हुँदै धुञ्चे पुग्छ। त्यहाँबाट शिवमन्दिर, त्रिशूली नदी किनार, चन्दनबारी (सिङ्गगोम्पा), चोलाङपाटी, लौरीविनायक र गणेश गौंडा पार गर्दै गोसाइँकुण्ड पुग्न सकिन्छ।

तीर्थयात्रीको चापलाई ध्यानमा राख्दै होटल व्यवसायीहरूले खाद्यान्न ढुवानी तथा बसोबासको व्यवस्था मिलाएका छन्। गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार जेठ ९ देखि १२ गतेसम्म विशेष पूजाका लागि पुजारीको व्यवस्था गरिएको छ। यात्राका क्रममा हुन सक्ने समस्या समाधान तथा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।

स्वास्थ्य र वातावरणीय सावधानी

लौरीविनायकभन्दा माथिल्लो क्षेत्रमा अल्टिच्युड सिकनेसको जोखिम हुने भएकाले स्वास्थ्यकर्मीहरूले सावधानी अपनाउन आग्रह गरेका छन्। धुञ्चेमा एक रात बास बसेर वातावरणसँग अभ्यस्त हुन तथा यात्रा गर्दा अदुवा, कागती, लसुन र बिरेनुन साथमा राख्न सुझाव दिइएको छ।

पैदल यात्रा गर्न नसक्ने ज्येष्ठ नागरिकका लागि काठमाडौँबाट हेलिकोप्टर सेवा पनि उपलब्ध गराइएको छ। लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहले यात्राका क्रममा वन्यजन्तुलाई नतर्साउन, वनस्पति नष्ट नगर्न र फोहर तोकिएको स्थानमा मात्र व्यवस्थापन गर्न आग्रह गरेका छन्। उनले हिमालय संरक्षणलाई भगवान् शिवप्रतिको सच्चा श्रद्धा भएको बताएका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत