काठमाडौं । हिमाली जिल्ला सोलुखुम्बुको प्रतिनिधित्व गर्दै मिस नेपाल २०२६ का उत्कृष्ट २४ फाइनलिस्टमध्ये प्रतियोगी नम्बर १९ बिभुषा बस्नेत आफ्नो आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक प्रतिबद्धताका कारण विशेष चर्चामा रहेकी छन्। सौन्दर्यसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै उनी मिस नेपालको मञ्चलाई सकारात्मक परिवर्तनको माध्यम बनाउने लक्ष्यसहित प्रतिस्पर्धामा उत्रिएकी हुन्।
कम उमेरदेखि नै आत्मनिर्भर बन्ने अठोट लिएकी बिभुषाले १७ वर्षको उमेरदेखि आफ्ना आर्थिक जिम्मेवारी आफैं सम्हाल्दै आएकी छन्। यही अनुभवले महिलाको आर्थिक स्वतन्त्रता, शिक्षा, सीप विकास र युवा सशक्तीकरणका विषयमा स्पष्ट दृष्टिकोण विकास गर्न प्रेरित गरेको उनी बताउँछिन्। उनका अनुसार आर्थिक रूपमा सक्षम महिलाले मात्रै आफ्ना जीवनका महत्वपूर्ण निर्णय स्वतन्त्र रूपमा लिन सक्छन्।
सञ्चार क्षेत्रमा सक्रिय बिभुषाले पत्रकारिता, कार्यक्रम सञ्चालन तथा विभिन्न सामाजिक अभियानमार्फत महिला र युवासँग सम्बन्धित मुद्दाहरू उठाउँदै आएकी छन्। महिला हिंसाका पीडितसँग प्रत्यक्ष काम गर्ने क्रममा आर्थिक अभावले न्याय प्राप्तिमा कस्तो प्रभाव पार्छ भन्ने अनुभवले उनलाई महिला आर्थिक सशक्तीकरणलाई आफ्नो मुख्य सामाजिक अभियान बनाउन प्रेरित गरेको हो।
हाल उनी लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ आई नेपाल की उपाध्यक्षका रूपमा पनि सक्रिय रहेकी छन्। उक्त भूमिकामार्फत उनले युवा नेतृत्व विकास, स्वयंसेवा, सामाजिक सचेतना तथा समुदायमा सकारात्मक परिवर्तन ल्याउने विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकी छन्।
बिभुषाका अनुसार मिस नेपाल केवल सौन्दर्य प्रतियोगिता नभई समाजमा प्रभावकारी परिवर्तन ल्याउन सक्ने सशक्त प्लेटफर्म हो। नेतृत्व क्षमता, सामाजिक सोच र आत्मविश्वासका कारण उनी अहिले मिस नेपाल २०२६ को उपाधिका लागि बलिया प्रतिस्पर्धीमध्ये एकका रूपमा हेरिएकी छन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ