बुधबार, असार ३१, २०८३
  • गृहपृष्‍ठ
  • दुर्घटना
  • विद्युत् मर्मतमा खटिएको प्राधिकरणको गाडी दुर्घटनाग्रस्त, दुई कर्मचारीको मृत्यु

विद्युत् मर्मतमा खटिएको प्राधिकरणको गाडी दुर्घटनाग्रस्त, दुई कर्मचारीको मृत्यु


कान्तिपथ


धरानमा विद्युत् मर्मतका लागि राति खटिएको नेपाल विद्युत् प्राधिकरण धरान वितरण केन्द्रको स्कारपियो गाडी दुर्घटनामा पर्दा दुई कर्मचारीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

धरान–इटहरी सडकखण्डअन्तर्गत सेउती पुलदेखि करिब २०० मिटर दक्षिण, तरहरातर्फ कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा१ञ १६५१ नम्बरको स्कारपियो अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चालकसहित दुई जनाको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।

मृत्यु हुनेमा धरान–१३ निवासी ३३ वर्षीय बीर्खबहादुर राई (सेवा करार चालक) र धरान–१६ निवासी ४९ वर्षीय सुमन आचार्य (स्थायी कर्मचारी) रहेका छन्। दुर्घटनामा घाइते भएका धरान–२० निवासी ३२ वर्षीय पदम राई उपचाररत छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उनको निधार र छातीमा चोट लागेको भए पनि अवस्था बोल्न सक्ने रहेको छ।

नेपाल विद्युत् प्राधिकरण धरान वितरण केन्द्रका प्रमुख रामहरि पोखरेलका अनुसार धरानमा राति करिब साढे १० बजे रुखको हाँगाले विद्युत् लाइनमा क्षति पुर्‍याएपछि विद्युत् आपूर्ति अवरुद्ध भएको थियो। त्यसपछि लाइन पेट्रोलिङ तथा मर्मतका लागि कर्मचारीहरू तत्काल घटनास्थलतर्फ प्रस्थान गरेका थिए। केही समयपछि उनीहरूसँग सम्पर्क हुन नसकेपछि दुर्घटनाको जानकारी प्राप्त भएको उनले बताए।

प्राधिकरणका अनुसार राति करिब २ बजे मात्र विद्युत् आपूर्ति पुनः सुचारु गरिएको थियो। प्रारम्भिक अनुसन्धानका आधारमा स्कारपियो तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको अनुमान छ। दुर्घटनाग्रस्त सवारी इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत