शुक्रबार, चैत्र २७, २०८२

एन्फा अध्यक्षमा कर्मा छिरिङ शेर्पाको उम्मेदवारी घोषणा


कान्तिपथ


अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आगामी असार ६ गते हुने केन्द्रीय निर्वाचनका लागि कर्माछिरिङ शेर्पाले अध्यक्ष पदमा पुनः उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । एन्फाको वर्तमान अध्यक्षसमेत रहनुभएका शेर्पाले आज पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष पदमा दोस्रो कार्यकालका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । चार वर्षअघि शेर्पा आफ्नो प्यानलसहित एन्फा नेतृत्वमा निर्वाचित हुनुभएको थियो ।

उहाँले यसअघि कोभिडका कारण सोचे अनुरुप काम गर्न नसके पनि आगामी दिनमा नेपाली फुटबल क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने बताउनुभयो । वर्तमान अध्यक्ष शेर्पाले पहिलो कार्यकालमा धेरै काम सुरु भएको र ती कामलाई पूर्णता दिन तथा नेपाली फुटबललाई अझै माथि उठाउनका लागि पनि आफूले फेरि उम्मेदवारी दिएको बताउनुभयो ।

शेर्पा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्षमा विज्ञानराज शर्मा, कुमार केसी, उपेन्द्रमान सिंह र रत्नकुमार श्रेष्ठ हुनुहुन्छ । त्यसैगरी सदस्यमा दीपक थापा, प्रदीप यादव, रूपेश अधिकारी, लोकेन्द्र गुरूङ, रामराजा गुरूङ, टीकाराम लामा, प्रदेशसिंह राठोर, भरतगुण थापा, अनिल श्रेष्ठ, रमेश ब्यञ्जनकार, मणिराज विष्ट र मनिष जोशी हुनुहुन्छ । महिला सदस्यमा भने उम्मेदवारी घोषणा गरिएको छैन ।

एन्फाको आसन्न निर्वाचनका लागि शुक्रबारदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भइसकेको छ । यसअघि पङ्कज नेम्वाङले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराइसक्नुभएको छ । उहाँको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्काले उम्मेदवारीको घोषणा गर्नुभएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत