शुक्रबार, चैत्र २७, २०८२

२२ लाख फाइजर खोप आईपुग्यो: ५ देखि ११ वर्ष बालबालिकालाई लगाईने


कान्तिपथ


नेपालका पाँचदेखि एघार वर्षमुनिका सबै बालबालिकालाई सरकारले कोभिड–१९ विरुद्धको खोप दिने भएको छ। त्यसका लागि आइतबार अमेरिकाबाट कोभ्याक्स सुविधाअन्तर्गत पहिलो लटको २२ लाख ३ हजार २ सय मात्रा खोप आइपुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बालबालिकालाई वितरणका लागि आइतबारै सातै प्रदेशस्थित स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा खोप पठाइ सकिएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै ‘५-११ वर्षका बालबालिकालाई लक्षित गरी प्रदान गरिएका यी खोप हालसम्म अमेरिकाले नेपाललाई प्रदान गरेको फाइजर खोपका २२ लाख ६० हजार र जोन्सन एन्ड जोन्सनका १५ लाख मात्रामा थपिने’ जानकारी दिएको छ।

स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणमा २७ वटा जिल्लामा पहिलो मात्रा खोप लगाइने छ। काठमाडौं उपत्यकासहित काभ्रेका लागि ३ लाख ३१ हजार २ सय, बागमती प्रदेशको चितवन, मकवानपुर र सिन्धुलीका लागि १ लाख ४२ हजार ४ सय, प्रदेश १ को झापा, मोरङ, सुनसरी र इलामका लागि ४ लाख ८ हजार, मधेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी र पर्साका लागि ५ लाख ४२ हजार ४ सय डोज खोप हिजै सम्बन्धित जिल्लामा पठाइएको विभागले जनाएको छ।

त्यसैगरी गण्डकीको कास्की र नवलपरासी पूर्वका लागि १ लाख ८ सय, लुम्बिनीको नवलपरासी पश्चिम, रूपन्देही, दाङ, बाँके र बर्दियाका लागि ३ लाख ९८ हजार ४ सय, कर्णालीको सुर्खेतका लागि ५२ हजार ८ सय र सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र डडेलधुराका लागि १ लाख ८७ हजार २ सय डोज पठाइएको छ।

प्रदेश कार्यालयले खोप जिल्लामा पठाएपछि सम्बन्धित स्वास्थ्य कार्यालयले खोप केन्द्र तोक्ने छ। विभागको कोल्डचेन तथा भ्याक्सिन वितरण शाखा प्रमुख बडेबाबु थापाका अनुसार असार ९ देखि बालबालिकालाई वितरण गर्ने तयारी अनुसार काम भइरहेको छ।

बालबालिकालाई पहिलो मात्रा खोप लगाएको ३ साताभित्र दोस्रो मात्रा लगाउनुपर्छ। यसका लागि फेरि २२ लाख डोज खोप दुई साताभित्र नेपाल ल्याइने छ। दोस्रो चरणमा बाँकी ५० जिल्लाका बालबालिकालाई आगामी भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा खोप वितरण गर्ने तयारी छ। पहिलो मात्रा खोप लगाएका बालबालिकालाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ सम्म लगाउने तयारी विभागको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत