शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • प्रशासन
  • दाङ : स्वास्थ्य, शिक्षा, कृषि र भौतिक पूर्वाधार निर्माणमा बजेटको प्राथमिकता

दाङ : स्वास्थ्य, शिक्षा, कृषि र भौतिक पूर्वाधार निर्माणमा बजेटको प्राथमिकता


कान्तिपथ


दाङका दशवटै स्थानीय तहले शुक्रबार आर्थिक वर्ष २०७९÷८० का लागि बजेट ल्याएका छन् । जिल्लाका तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, लमही नगरपालिकासहित यहाँका सात गाउँपालिकाले आगामी आवको नीति कार्यक्रम र बजेट ल्याएका हुन् ।

विशेष गरेर पालिकाले स्वास्थ्य, शिक्षा, कृषि र भौतिक पूर्वाधार निर्माणमा बजेटलाई प्राथमिकता दिएका छन् । लमही नगरपालिकाले आव २०७९÷८० का लागि रु एक अर्ब ३९ करोड एक लाख एक हजार बजेट विनियोजन गरेको छ । लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले उक्त बजेट शुक्रबार नगरसभामा प्रस्तुत गर्नुभएको हो ।

नगरपालिकाले सङ्घीय सरकारको समानीकरणमार्फत रु १५ करोड ९० लाख, सङ्घीय सरकारमार्फत राजस्व बाँडफाँटबाट रु १३ करोड ५१ लाख, सङ्घीय सरकार समपूरक अनुदान रु दुई करोड, विशेष अनुदान रु तीन करोड, सशर्त अनुदान रु ३८ करोड पाँच लाख प्राप्त हुने अनुमान गरेको छ ।

यसैगरी प्रदेश सरकार समानीकरणमार्फत रु नौ लाख २३ हजार, प्रदेश सरकार सवारीसाधन राजस्व बाँडफाँट रु दुई करोड ८६ लाख ७७ हजार, सशर्त अनुदान रु १३ करोड, समपूरक अनुदान रु १९ करोड नौ लाख र प्रदेश सरकार विशेष अनुमान रु १९ करोड नौ लाखको रहेको छ । आन्तरिक स्रोततर्फ रु ३३ करोड ८० लाख बैंक मौज्दात, आन्तरिक स्रोत २५ करोड सात लाख २५ हजार ९६८ र प्रदेश सरकार रोयल्टीमार्फत ४४ हजार ३२ रूपैयाँबाट बेहोरिने भएको छ ।

चालु आवको तुलनामा लमही नगरपालिकामा आउँदो आवमा रु २७ करोड बढी बजेट विनियोजन गरिएको छ । अघिल्लो आवमा लमही नगरपालिकाले रु एक अर्ब १२ करोड ५० लाख बजेट विनियोजन गरिएको थियो ।

त्यसैगरी राजपुर गाउँपालिकाले आगामी आव २०७९÷८० का लागि रु ५३ करोड २० लाख ७१ हजारको बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष धनपति यादवले आगामी आवका लागि उक्त बजेट प्रस्तुत गर्नुभएको थियो ।

राजपुर गाउँपालिकाको नाम र पालिकाको केन्द्र टुङ्गो लागेको छ । गाउँसभाको बैठकले पालिकाको केन्द्र वडा नं ४ दुलैयामा तोक्ने र नाम राजपुर बेला गाउँपालिका राख्ने निर्णय भएको अध्यक्ष शरद् बुढाथोकीले जानकारी दिनुभयो ।

साविको राजपुर र बेला गाविस गाभिएर पालिका बनेको र पालिकाको केन्द्र सबैलाई पायकपर्ने स्थानमा तोकिएको र नाम राजपुरबेला गाउँपालिका राखिएको गाउँपालिकाका अध्यक्ष बुढाथोकीले बताउनुभयो ।

त्यसैगरी बबई गाउँपालिकाले आगामी आवका लागि रु ५० करोड ६५ लाख ४३ हजार बजेट विनियोजन गरेको छ । गाउँपालिकाका उपाध्यक्ष बमकुमारी खड्काले आउँदो आवका लागि बजेट प्रस्तुत गर्नुभएको हो ।

जसमा रु सात करोड ८६ लाख ५० हजार चालु खर्च, रु २० करोड ४२ लाख ९३ हजार पँुजीगत खर्च छुट्याइएको छ । सशर्त अनुदानतर्फ रु १९ करोड २६ लाख, विशेष अनुदानतर्फ रु एक करोड ६० लाख, समपूरक अनुदानतर्फ रु एक करोड ५० लाख बजेट व्यवस्था गरिएको छ ।

त्यस्तै बङ्गलाचुली गाउँपालिकाले आव २०७९÷८० का लागि रु ६३ करोड ५५ लाख २० हजारको बजेट ल्याएको छ । गाउँपालिकाको दोस्रोसभामा पालिका उपाध्यक्ष भक्तबहादुर जिसीले सो बजेट प्रस्तुत गर्नुभएको हो ।

प्रस्तावित बजेटमा पुँजीगतमा रु २८ करोड ६१ लाख ७९ हजार अर्थात् ४६ प्रतिशत छ । यसैगरेर चालुतर्फ रु ३४ करोड ९३ लाख ४१ हजार अर्थात् ५४ प्रतिशत छ । पालिकाले शिक्षा, पूर्वाधार विकास, स्वास्थ्य, लैङ्गीक समानता तथा सामाजिक सशक्तीकरण, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास तथा सुशासन र आर्थिक विकासका क्षेत्रलाई प्राथमिकीकरण गरेर बजेट ल्याएको गाउँपालिकाका उपाध्यक्ष जिसीले बताउनुभयो ।

सङ्घीय सरकारको अनुदान रु ४५ करोड ८४ लाख, राजस्व बाँडफाँटबाट रु १० करोड ९७ लाख, प्रदेश सरकारको अनुदान रु तीन करोड ४७ लाख, राजस्व बाँडफाँटबाट रु ७७ लाख, आन्तरिक राजस्वबाट रु एक करोड ५० लाख र गत वर्षको मौज्दात रु एक करोड छ ।

त्यस्तै, शान्तिनगर गाउँपालिकाले रु ५० करोड ९७ लाख ४८ हजारको बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष प्रेमाकुमारी बुढाथोकीले आगामी आवका लागि बजेट प्रस्तुत गर्नुभएको हो ।

गाउँपालिकाले चालुतर्फ रु ३१ करोड ६६ लाख ४८ हजार, पुँजीगततर्फ रु १९ करोड ३१ लाख बजेट विनियोजन गरेको छ । उता गढवा गाउँपालिकाले आउँदो आव २०७९÷८० का लागि रु ६३ करोड ४५ लाख १० हजारको बजेट विनियोजन गरेको छ । गढवा गाउँपालिकाको एघारौँ गाउँसभामा उपाध्यक्ष शारदा चौधरीले बजेट प्रस्तुत गर्नुभएको हो । पालिकाले चालुतर्फ रु ३१ करोड ६५ लाख ७६ हजार र पुँजीगततर्फ रु ३१ करोड ७९ लाख ३४ हजार बराबरको बजेट विनियोजन गरेको छ । यता, दङ्गीशरण गाउँपालिकाले आव २०७९÷८० का लागि रु ४६ करोड ९४ लाख ३९ हजार बजेट विनियोजन गरेको छ । गाउँपालिका उपाध्यक्ष पिमाकुमारी खड्काले बजेट प्रस्तुत गर्नुभएको हो ।

यसैबीच, राप्ती गाउँपालिकाको बजेट पनि सार्वजनिक भएको छ । सहमतिका लागि प्रयास भए पनि सहमति हुन नसकेपछि आव २०७९÷८० को रु ६१ करोड ५४ लाख ८४ हजार बराबरको बजेट वडा नं ४ का वडाध्यक्ष वीरबहादुर चौधरीले घोषणा गर्नुभएको हो । —



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत