शुक्रबार, चैत्र २७, २०८२

व्यासद्वारा कृषि व्यवसायमा स्थानीय उत्पादन कर छुट


कान्तिपथ



व्यास नगरपालिका कार्यालयले कृषि व्यवसायमा लाग्ने स्थानीय उत्पादन कर नलिने भएको छ । कृषिसँग सम्बन्धित पशुपक्षी, माछा, फलफूल, तरकारी र दूधलगायतका स्थानीय उत्पादनमा लाग्ने करमा नगरपालिकाले छुट गरेको हो ।

साथै दुग्ध सहकारीमार्फत बिक्री हुने दूधमा प्रतिलिटर रु एक र सहकारीमार्फत बिक्री हुने खसीबोकामा प्रतिकिलो रु १० का दरले सम्बन्धित किसानलाई अनुदान दिने कार्यक्रम रहेको छ ।

व्यास नगरपालिकाको हालै सम्पन्न ३७औँ नगरसभाबाट आर्थिक वर्ष २०७९÷८० को बजेट तथा नीति कार्यक्रमले पनि उक्त कार्यक्रमलाई पारित गरेको नगर उपप्रमुख इन्दिरा दरैले जानकारी दिनुभयो ।

सेवा शुल्क र दस्तुरका दर, व्यवसाय कर सम्पत्ति कर एवं भूमि कर, घरनक्सा पास दस्तुर, खानीजन्य ढुङ्गा, गिटी, बालुवा, ग्रावेल, रोडा, स्लेट ढुङ्गा चुनढुङ्गा, ब्लक, इँटा, कटिङ, कबाडी सामान र काठ आदिमा लिइने दस्तुर सामान्य हेरफेर गरी करको दायरा फराकिलो बनाउन लागेको उपप्रमुख दरैले जानकारी दिनुभयो ।

आगामी बजेटमा कृषि क्षेत्रको जैविक तथा आधुनिकीकरणमा विकास, स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षाको प्रत्याभूति, पर्यटन क्षेत्रको एकीकृत विकासमा जोड दिइएको छ । त्यसैगरी सडक, खानेपानी, खेलकुद मैदान, कार्यालय भवन, पार्क निर्माणलगायत पूर्वाधारको विकास, उत्पादनमूलक उद्योगमैत्री कार्यक्रम र मानव संशाधनको विकास र सुशासनको प्रत्याभूति हुने गरी काम गर्ने योजना बनाइएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत