न्यायपरिषद्ले एक सातामा तीन न्यायाधीशलाई बर्खास्त गरेको छ । न्यायपरिषदले न्यायाधीश रेणुका साह,नसरुल्लाह अन्सारी र लोकजंग शाहलाई बर्खास्त गरेको हो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा रहेकी न्यायाधीश रेणुका साहलाई २४ असारमा बर्खास्त गरेको न्यायपरिषदले शुक्रबार उच्च अदालत सुर्खेतको जुम्ला इजलासका न्यायाधीश नसरुल्लाह अन्सारी र बर्दिया जिल्ला अदालतका न्यायाधीश लोकजंग शाहलाई बर्खास्त गरेको छ । उच्च अदालत तुलसिपुरकी अर्की न्यायाधीश बबिता उप्रेतीलाई भने सचेत गराइएको छ ।
न्यायपरिषदले साहको १० वर्षसम्म वकालत गरेको योग्यता नपुगेको न्यायाधीश अन्सारीको कार्यक्षमता अभाव तथा खराब आचरण रहेको र शाहलाई बलात्कार लगायतको मुद्धामा विवादस्पद फैसला गरेको भन्दै बर्खास्त गरिएको हो । निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको जोडबलमा न्यायाधीश बनेकी साह पूर्व प्रधानन्यायाधीश रामकुमार साहकी छोरी हुन् ।
सरकारी वकिलबाट न्यायाधीश नियुक्त शाहविरुद्ध नुवाकोट जिल्ला अदालतमा रहँदा जग्गा विवादमा गरिएको फैसला विरुद्ध न्यायपरिषदमा उजुरी परेको थियो । बर्दिया जिल्ला अदालतमा छँदा सवारी ज्यान मुद्दाको फैसला र जिल्ला अदालत दार्चुलामा बन्धक बनाई सामूहिक बलात्कारमा वारदात स्थलबाटै पक्राउ परेका अभियुक्तलाई सफाइ दिने गरी न्यायाधीश शाहले गरेको फैसला विवादित बनेको थियो ।
सुशीला कार्की न्याय परिषद् अध्यक्ष छँदा ०७३ पुसमा अन्सारीलाई कानुन व्यवसायीबाट उच्चको न्यायाधीश नियुक्त गरिएको थियो । ०७५ सालमा उच्च अदालत जनकपुरको राजविराज इजलासमा छँदा जग्गाको मुद्दा आर्थिक चलखेल गरी फैसला गरेको भन्दै जिल्ला बारले उनी विरुद्ध आन्दोलन गरेको थियो । सचेत गराइएका उप्रती र अन्सारीले राय किताब र फैसलामा फरक तथ्य राखी फैसला गरेको भन्दै परिषदमा उजुरी परेको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ