शुक्रबार, चैत्र २७, २०८२

थारु गाउँमा सामूहिकरुपमा हर्धौवा पर्व मनाइँदै


कान्तिपथ


कैलालीका थारु समुदायले गाउँघरमा सामूहिकरुपमा हर्धौवा पर्व मनाइरहेका छन् । खेतीपातीको काम सकेको खुशीयालीका रुपमा हर्धौवा पर्व मनाउने चलन छ । रोपाइँ सकेको खुशाीयालीस्वरुप मनाइने पर्व हर्धौवा थारु समुदायका विभिन्न गाउँमा मनाउन थालिएको हो ।

हर्धौवा पर्वमा थारु समुदायले गाउँघरमा बुङ्गुर मारेर सबै जना जमघट गर्दै रमाइलो खानपानसहित मनाउने चलन रहेको जानकी गाउँपालिका वडा नं ३ का मानबहादुर चौधरीले बताउनुभयो । “असार महिनाभरि किसान खेतमा व्यस्त रहने, खेती गर्दाको थकाइ मेट्न, सबै किसान मिलेर मासुको जोहो गरेर, मीठामीठा परिकार बनाएर थकाइ मेट्ने चलन छ”, उहाँले भन्नुभयो, “गाउँका सबैको खेती रोपाइँ सकिएकाले आजभोलि किसान मिलेर खानपान र रमाइलो गरिरहेका छन् ।” उहाँले घरघरमा भएका नयाँ तरकारी पकाउने, अन्य समयभन्दा मीठो खाने चलन रहेको बताउनुभयो । थारु गाउँघरका सबैजसो गाउँमा हर्धौवा पर्व मनाउन थालिएको छ ।

कुनै समुदायमा रोपाइँ सकिएको दिन रमाइलो गरेर मनाउने गरेका हुन्छन् भने कुनै गाउँमा सबै जना एकै दिन पारेर सामूहिकरुपमा मनाउने गरेका हुन्छन् । महिनौँ दिनसम्म खेतीपातीका काममा व्यस्त रहने भएकाले मीठो खान नपाइने र नातेदारसँग भेटघाट नहुने भएकाले खेती सकेपछि सबै जना जमघट हुने, मीठो परिकार खाने अवसरका रुपमा हर्धौवा मनाइने गरिएको किसान अगुवा सुन्दर चौधरी बताउनुहुन्छ ।

हर्धाैवामा थारु समुदायमा मासु अधिकरुपमा खाने चलन छ । खेतीपातीको काम गर्दा शक्ति नाश भएको महसुस गरिने भएकाले हर्धौवा पर्वमा शक्ति प्राप्त गर्न माछा, मासु, पकौँडा, फुलौरालगायत प्रथा जनित खानपिन गर्ने गरिन्छ । थारु समुदायका अगुवा हरि चौधरी हर्धौवा मनाउनु थारु समुदायको परम्परा र संस्कृतिसँग जोडिएको संस्कार भएकाले पनि यसलाई निरन्तरता दिने गरिएको बताउनुहुन्छ । यसपछिका दिन थारु समुदायका पुरुष खेतमा सिँचाइका लागि रेखदेख गर्ने गर्दछन् भने महिला परम्परागत सामग्री ढकिया, डेलिया लगायतका सामग्री बुन्ने, माछा मार्ने काम गरेर समय व्यवस्थापन गर्दछन् । महिलाले बनाउने ढकिया, डेलिया अन्नपात र सरसामान राख्न प्रयोग हुने गर्दछन् । त्यसबाहेक फुर्सदमा माछा मारेर महिलाले तरकारीको जोहो गर्ने गर्दछन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत