नेकपा माओवादी केन्द्र, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) र बामदेव गौतमको पार्टीले आसन्न निर्वाचनमा एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने जानकारी आज निर्वाचन आयोगलाई गराउँदै छन् ।
आज दिउँसो १ बजे नेताहरु निर्वाचन आयोगमा गएर एउटै चिह्न लिएर चुनावमा भाग लिने जानकारी गराउने माओवादी केन्द्रका कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
माओवादी केन्द्र र नेसपाबीच मंसिर ४ को प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा एउटै चुनाव चिह्न र साझा घोषणा पत्र बनाएर भाग लिने सहमति भइसकेको छ । सहमति अनुसार डा. भट्टराई नेतृत्वको नेसपा र बामदेव गौतम नेतृत्वको पार्टीका उम्मेदवार माओवादी केन्द्रको गोलाकारभित्रको हसिया हथौडा चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने छन् ।
माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव उपाध्यायले त्यसको गृहकार्य भइरहेको बताए । निर्वाचनसम्बन्धी ऐनको एउटै चुनाव चिह्न प्रयोगसम्बन्धी व्यवस्था अनुसार ३ पार्टीले एउटै चुनाव चिह्न लिने निर्णय गरेर आयोगलाई जानकारी गराउने उनको भनाइ छ ।
दुई वा दुई भन्दा बढी दलले एउटै चुनाव चिह्नमा चुनाव लडेमा निर्वाचन परिणामले सबैभन्दा ठूलो दल जुन हुन्छ, उसैको संसदीय दल अन्तर्गत निर्वाचित जनप्रतिनिधि रहन्छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ