नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव लड्न सहमत वामदेव गौतमले निर्वाचन क्षेत्र पनि परिवर्तन गर्ने भएका छन् । गौतमले प्यूठानबाट आगामी प्रतिनिधिसभाको चुनाव लड्ने प्रस्ताव गरेका छन् । ‘यसपटक प्यूठानबाट चुनाव लड्ने प्रस्ताव गर्नुभएको छ । त्यही हुन्छ होला’, उनी निकट स्रोतले भन्यो । चुनाव चिह्नसँगै निर्वाचन क्षेत्रबारे पनि गौतमले माओवादी केन्द्रसँग प्रस्ताव गरेका हुन् ।
०७० मा गौतमले प्यूठान–१ र बर्दिया–१ बाट जितेका थिए । तर ०७२ को संविधानले भने दुई ठाउँबाट चुनाव लड्ने प्रावधान हटाएपछि गौतम बर्दिया–१ बाट चुनाव लडे । चुनाव जित्न भने सकेनन् ।
कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित गौतमले आगामी चुनाव भने प्यूठानबाट लड्ने मनसाय बनाएका छन् । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि कतै पनि नलागेका गौतमले केही समय अगाडि मात्रै नेकपा एकता राष्ट्रिय अभियान गठन गरेका थिए । उक्त दलको अस्तित्व कायमै राख्दै माओवादी केन्द्रको चिह्नबाट गौतम चुनाव लड्न लागेका हुन् ।
प्रतिनिधि सभातर्फ एक निर्वाचन क्षेत्र रहेको प्यूठानमा गत निर्वाचनमा एमाले र माओवादीको साथले राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल विजयी भएकी थिइन् । पौडेलले कांग्रेसका उम्मेदवार डा. गोविन्दराज पोखरेललाई १६ हजार २८६ मतान्तरले पराजित गरेकी थिइन् ।
पौडेलले ४७ हजार ५१४ मत ल्याउँदा पोखरेलले ३१ हजार २८६ मत ल्याएका थिए । पौडेल मोहनविक्रम सिंहकी पत्नी हुन् । प्रदेश सभातर्फ एमालेका हरि रिजाल र माओवादी केन्द्रबाट कृष्णध्वज खड्का निर्वाचित भएका थिए । रिजाल प्रदेशका पूर्व मन्त्री हुन् भने खड्का बहालवाला आर्थिक मामिला मन्त्री छन् ।
यसपटक सत्ता गठबन्धन निर्वाचनसम्म रहिरहे गठबन्धनबाट पौडेल र नेकपा एमालेबाट पोलिटब्यूरो सदस्य तथा प्यूठान इन्चार्ज सूर्य थापाबीच प्रतिस्पर्धा हुने देखिन्छ । बामदेवले पनि प्युठानबाट नै लड्न खोजे पौडेलको स्थति के हुने टुंगो छैन ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ