शुक्रबार, चैत्र २७, २०८२

जुम्लामा तिहारकै मुखमा मूल्यवृद्धि, विपन्न नागरिक मारमा


कान्तिपथ


जुम्ला । वर्षको एक पटक आउने चाडलाई उत्साह पूर्वक मनाउने सबैको चाहाना इच्छा हुन्छ । मजदुरी नगरी बिहान बेलुकका चुलो नबल्ने विपन्न नागरिकहरूका लागि दसैँ तिहार जस्ता पर्वहरूमा भएको मूल्यवृद्धिले थप चुनौती दिएको हुन्छ । ऋण जोहो गरेपनि मिठो मसिनो खाने,आङमा नयाँ लत्ता कपडा फेर्ने चाहाना राखेका विपन्न नागरिक तिहारै मुखमा भएको मनपरी मूल्यवृद्धिले ठुलो मारमा छन् ।
अन्य समय भन्दा चाडपर्वको बेला सहुलियत पाउने नागरिकको अपेक्षा भएपनि यस वर्ष पनि तिहार नजिकिँदै गर्दा जुम्लामा दैनिक उपभोग्य वस्तु र लत्ता कपडाको ह्वात्तै मूल्यवृद्धि भएको छ । बाढी पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको कारण देखाउँदै व्यापारीले मनपरी मूल्य वृद्धि गरेका छन् ।
पुरानै सामानको मनपरी नयाँ मूल्य तोक्दै व्यापारीले उपभोक्ताका ढाड सक्ने गरेका हुन् । जुम्लामा अहिले खाना पकाउने एलपी ग्याँस र पेट्रोल डिजेलको चरम अभाव छ । जसका कारण तिहारको बेला आवत जावत समेत प्रभावित हुने देखिएको छ ।
व्यापारीले विपद्को समयमा सहुलियत दिनु पर्ने ठाउँमा मौका छोपी कालोबजारी बढाएपछि जुम्लामा व्यापक गुनासो बढेको छ । असोज १९ गते अघि सम्म २२ सय पर्ने ग्याँसको मूल्य हास ३ हजार सम्म,खानेतेल २३ सयबाट सिधै २६ देखि २८ सय सम्म,२२ सय पर्ने आर्सीवाद चामल २४ सय सम्म र लत्ता कपडाको समेत मूल्य मनपरी रुपमा बढाइएको छ ।

यद्यपि,जिल्ला प्रशासनले बजार अनुगमन गर्दा भने पुरानै मूल्यमा बेचेको भन्ने र पछि दोब्बर मूल्य बढाएर बच्ने गरेको उपभोक्ताको गुनासो छ । ‘सदरमुकाममै दोब्बर मूल्य बढाएका छन् । ग्रामीण बजारको अवस्था कस्तो होला रु’ गुठिचौर गाउँपालिका २ का सिंहमान बोहोराले भन्नुभयो,“गाउँका बजारमा चामल,दाल,तेल,चिनी,मैदा,आटा,चामल लगायत दैनिक उपभोग्य वस्तुको मनपरी मूल्य वृद्धि छ । ग्रामीण बजार केन्द्रित अनुगमन जरुरी छ । विपन्न नागरिकलाई तिहार मनाउन सकस हुने गरी मूल्य बढेको छ ।” जुम्लाका आठै पालिकामा भएका ग्रामीण बजार एकपटक अनुगमन गर्नुपर्ने स्थानीयको माग छ । साथै जुम्लामा टमाटरको समेत चरम अभाव छ ।
यता सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बजार अनुगमनका क्रममा मूल्यवृद्धि भएको नपाइएको बताउनुभयो । जुम्लामा ग्याँस र इन्धनको अभाव देखियो । उनले भनिन,“गत साता बजार अनुगमन गर्दा इन्धन र ग्याँस जुम्लामा कतै छैन । ३ हजार क्वीईन्टल जत्ति खाद्यान्न मौज्दात छ । खाने तेल पनि पर्याप्त छ । मूल्यवृद्धि नियन्त्रणमा प्रशासन सजक रहेको छ ।”
उपभोक्ता सचेत नभई मूल्यवृद्धि नियन्त्रण सम्भव नरहेको सहायक प्रजिअ रिजालको भनाई छ । व्यापारीले ठगेको खण्डमा सिधै प्रशासनमा सूचना दिन आग्रह गरिएको छ । सडक अवरुद्ध भएपछि नयाँ सामान जिल्लामा भित्रिएको छैन ।
व्यापारीले नाफा खान मूल्य बढाएपनि उपभोक्ताले सूचना दिएको खण्डमा तत्काल कारबाही गरिने प्रशासनको दाबी छ । कार्तिक ३ गते जुम्लाका १३ किराना पसल,५ तरकारी पसलमा अनुगमन गर्दा मूल्य सन्तोषजनक पाइएको प्रशासनले बताएको छ । कुनै व्यापारीले अनुचित नापा लिन खोजेमा दण्डनीय हुने समेत चेतावनी दिइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत