एसियन जायन्ट जापान सम्मिलित समूह ‘ई’ बाट बिहीबारको अन्तिम चरणका खेलपछि मात्र नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लाग्दै छ। यस समूहमा जर्मनी र स्पेनजस्ता बलिया टोली छन्।
पहिलो खेलमा विश्वविजेता जर्मनीलाई स्तब्ध बनाएको जापानले दोस्रो खेलमा कोस्टारिकासँग हार बेहोरेपछि यस समूहबाट नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लाग्न अन्तिम चरणका खेल कुर्नुपरेको हो। बिहीबार राति जापान र स्पेन तथा जर्मनी र कोस्टारिका भिड्दै छन्। शीर्ष स्थानको स्पेनको चार अंक छ भने जापान र कोस्टारिकाको समान तीन अंक छ। दोस्रो चरणमा पुग्न स्पेनलाई एक अंक पनि पर्याप्त हुन्छ। खलिफा अन्तर्राष्ट्रिय स्टेडियममा स्पेनलाई हराउँदा मात्र जापान दोस्रो चरणमा पुग्नेछ।
त्यो नतिजाले चार पटकको विश्वविजेता जर्मनी अन्तिम खेलमा जितका बावजुद लगातार दोस्रो पटक विश्वकपको समूहचरणबाट बाहिरिनेछ। तर, जापानको बराबरी हुँदा सन् २०१४ को विश्व च्याम्पियन जर्मनीले जित निकालेको समीकरणमा गोलअन्तर निर्णायक बन्नेछ। लयमा रहेको स्पेनलाई हराउन जापानले ठूलो संघर्ष गर्नुपर्छ। यता, कोस्टारिकाले पनि अल बायत रंगशालामा जर्मनीलाई हराउन स्वाभाविक प्रदर्शनमा सुधार गर्नुपर्नेछ। जर्मनीले कोस्टारिकासँग एक मात्र खेल खेलेको छ, जुन, २००६ को विश्वकपमा हो।
त्यो खेल जर्मनीले ४–२ ले आफ्नो पक्षमा पारेको थियो। तर, सन् २०१४ मा क्वार्टरफाइनलसम्म यात्रा तय गरेको कोस्टारिका जर्मनीविरुद्ध जित निकाल्दै कतार विश्वकपमा सनसनी मच्चाउन चाहन्छ। किनकि स्पेनसँग ७–० को लज्जास्पद हारका बावजुद कोस्टारिकाले दोस्रो खेलमा जापानलाई हराउँदै उत्कृष्ट पुनरागमन गरेको हो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ