शुक्रबार, चैत्र २७, २०८२

पछिल्लो समय असुरक्षित गर्भपतन बढ्दै


कान्तिपथ


चितवन । पछिल्लो समय असुरक्षित गर्भपन विकराल र थप चुनौती बन्दै गएको पाइएको छ । 

स्वैच्छिक गर्भपतनले मान्यता पाएसँगै नेपाली गर्भपतन सम्बन्धी मुलुकी ऐन बाझिदा पनि असुरक्षित गर्भपतन बढ्दै गएको विज्ञ तथा सरोकारवालाहरुले बताउनुभएको छ । 

भरतपुरमा शनिबार आयोजित असुरक्षित गर्भपतन तथा जनस्वास्थ्य सम्बन्धी कार्यक्रममा उहाँहरूले मुलुकी ऐनमा स्पष्ट मापदण्ड नहुँदा असुरक्षित गर्भपतन थप चुनौती बन्दै गएको बताउनुभएको हो । 

सो अवसरमा प्रस्तुतीकरण दिँदै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका डा.श्याम लम्सालले कानुनी उल्झन, यससम्बन्धी स्पष्ट मापदण्ड नहुँदा र निर्देशिका पालना नहुँदा असुरक्षित गर्भपतन बढ्दै गएको बताउनुभयो  । 

“महिलाले १२ हप्ता सम्मको स्वैच्छिक गर्भपतन गर्ने कानुनी व्यवस्था छ तर त्यसपछिको गर्भपतनमा भने विभिन्न सर्तहरू राखिएका छन् । मुलुकी ऐन आफैँमा बाझिएको छ र चिकित्सकलाई समेत काम गर्न अप्ठेरो भएको छ ।” डा. लम्सालले भन्नुभयो । 

असुरक्षित र  अवैध गर्भका कारण तोकिएको स्वास्थ्य संस्था तथा चिकित्सकबाट गर्भपतन नहुने गरेका कारण मातृ मृत्युदर समेत बढेको उहाँको भनाई छ । असुरक्षित गर्भपतनका कारण पाठेघर तथा अन्य अङ्गमा चोट पुगेर मातृ मृत्युदर बढेको उहाँले बताउनुभयो  । 

कार्यक्रममा भरतपुर अस्पतालका प्रसूति विभाग प्रमुख सुनिलमणि पोख्रेलले असुरक्षित गर्भपतनका कारण अत्यधिक रक्तश्राव, उच्च रक्तचाप र सङ्क्रमणका कारण मातृ मृत्युदर बढेको बताउनुभयो । “एक त मुलुकी ऐनले आफैँमा बाझिएको छ । अर्को कुरा सचेतना र परिवार नियोजनका साधन प्रयोगमा कमी र लापरवाही छ ।” डा.पोख्रेलले बताउनुभयो । समाजको डर, सामाजिक प्रतिष्ठा र जथाभाबी औषधिको प्रयोगले पनि असुरक्षित गर्भपतन बढेको उहाँको भनाई छ । 

बागमती प्रदेश, स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले यकिन तथ्याङ्क नभए पनि नेपालमा ५७ प्रतिशत महिलाले असुरक्षित गर्भपतन हुने गरेको बताउनुभयो । उहाँले असुरक्षित गर्भपतनका कारण मातृ मृत्युदर बढेको भन्दै सरकारले जनचेतनामा वृद्धि गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । 

उहाँले यसलाई न्यूनीकरण गर्न सरकारले तोकेको मापदण्ड, तोकिएको स्वास्थ्य संस्था, तथा तोकिएको चिकित्सकसँग मात्र गर्भपतन गर्नुपर्ने बताउनुभयो । 

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट कृष्ण पौडेलले अस्पतालले जनचेतनाका साथै विशेषज्ञ चिकित्सकसँग र सरकारले तोकेको मापदण्डभित्र रहेर मात्रै गर्भपतन गर्दै आएको बताउनुभयो । 

मुलुकी ऐनका कारण चिकित्सकलाई काम गर्न अप्ठेरो परेको भन्दै उहाँले स्पष्ट मापदण्ड हुनुपर्ने बताउनुभयो । 

उहाँले आर्थिक, सामाजिक संरचना र प्रतिष्ठानका कारण पनि असुरक्षित गर्भपतनमा वृद्धि भएको बताउनुभयो । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत