शुक्रबार, चैत्र २७, २०८२

विश्वकपको फाईनलमा अर्जेन्टिना : मेस्सीका नाममा रेकर्डै रेकर्ड


कान्तिपथ


साविक उपविजेता क्रोएसियालाई हराउँदै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोहाको लुसेल रंगशालामा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० गोल अन्तरले हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन जुलियन अल्भारेजले दुई गोल गरे । कप्तान लियोनल मेस्सीको नाममा एक गोल रह्यो । खेलको ३४ औं मिनेटमा मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।

क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले अल्भारेजलाई पेनाल्टी क्षेत्रमा फउल गर्दै लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो । जसमा मेस्सीले सहजै गोल गरे ।

विश्वकपमा मेस्सीको यो अर्जेन्टिनाका लागि कीर्तिमानी ११ औं गोल हो । मेस्सीले गाब्रिएल बाटिस्टुटाको नाममा रहेको १० गोलको कीर्तिमान तोडेका हुन् ।

मेस्सीले यस खेलबाट विश्वकपमा सर्वाधिक धेरै खेल खेल्ने खेलाडीको कीर्तिमानमा समेत बराबरी गरेका छन् । मेस्सीले जर्मनीका पूर्व मिडफिल्डर लोथर माथाउसको नाममा रहेको २५ खेलको कीर्तिमान बराबर गरेका हुन् ।

एक असिस्ट गरेपछि मेसीले आफ्नै देश अर्जेन्टिनाका महान खेलाडी डिएको म्याराडोनाको कीर्तिमान भंग गरेका हुन्। विश्वकपमा म्याराडोनाले ८ असिस्ट गरेका छन्। मेसीले आज एक असिस्ट गरेपछि उनीसँग बराबरी भएको छ।

खेलको ३९ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा २-० गोलको अग्रता दिलाए । काउन्टर बलमा क्रोएसियाका डिफेन्डरले बल क्लियर गर्न नसक्दा अल्भारेजले एकल प्रयासमा गोल गरे ।

त्यसपछि खेलको ६९ औं मिनेटमा अल्भारेजले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई ३-० गोलको सहज जित दिलाए । उनले मेस्सीले उपलब्ध गराएको सुन्दर पासमा सहजै गोल गरे ।

दुई पटकको च्याम्पियन अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनलमा पुगेको हो । अब अर्जेन्टिनाले उपाधिका लागि फ्रान्स र मोरक्कोबीचको विजेतासँग खेल्नेछ । यस हारसँगै क्रोएसियाको विश्वकप यात्रा भने टुंगिएको छ । साविक विजेता फ्रान्स र मोरक्कोबीचको दोस्रो सेमिफाइनल बुधबार राति हुनेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत