शनिबार, चैत्र २८, २०८२

लुम्बिनीमा दुई महिनामा रु ६१ लाख दान सङ्कलन


कान्तिपथ


बेलहिया (रुपन्देही) I गौतमबद्धको जन्मस्थल लुम्बिनीमा दानबापत दुई महिनामा रु ६१ लाख २० हजार आठ सय ६ सङ्कलन भएको छ । लुम्बिनी विकास कोषले पाँच दिन लगाएर शुक्रबार दान पेटिकाको भेटी गणना सकाएको हो । 

आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या वृद्धि भएसँगै मायादेवी मन्दिरमा राखिएका दान पेटिका रकम सङ्कलन बढ्दै गएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले जानकारी दिनुभयो । अघिल्लो पटक तीन महिनामा एक पटक गणना गरिएकामा यस पटक दान पात्र छिट्टै भरिएकाले दुई महिना नपुग्दै गणना गरिएको हो । गत असोज ३० गते गरिएको भेटी गणनामा रु २७ लाख १८ हजार दानबापत रकम सङ्कलन भएको थियो । 

कोरोना महामारीपछि थालिएको पर्यटन क्षेत्र बिस्तारै चलायमान हुन थालेपछि लुम्बिनी भ्रमण गर्ने पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको छ । अहिले लुम्बिनी भ्रमणको मौसम समेत सुरु भएकाले छिमेकी देश भारतसहित थाइल्यान्ड, म्यान्मा, भियतनाम र युरोपबाट समेत पर्यटक आउने क्रम बढेको कोषाध्यक्ष भट्टराईले बताउनुभयो । 

लुम्बिनी विकास कोषको सूचना शाखाका अनुसार नोभेम्बर महिनामा मात्रै ८२ हजार दुई सय पाँच आन्तरिक पर्यटकले भ्रमण गरेका छन् । यस्तै यस अवधिमा भारतबाट ३८ हजार ६ सय ८९,  तेस्रो मुलुकबाट सात हजार चार सय ७३ जनाले लुम्बिनी भ्रमण गरेको सूचना शाखाले जनाएको छ । 

सन् २०२२ को नोभेम्बर महिनासम्म पाँच लाख ४५ हजार आन्तरिक पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । यस्तै यस अवधिमा भारतबाट एक लाख ८८ हजार र भियतनाम, म्यान्मा, थाइल्यान्ड, श्रीलङ्कालगायत ८४ मुलुकबाट एक लाख ८१ हजार पर्यटकले लुम्बिनी भ्रमण गरेको सूचना शाखाको तथ्याङ्कमा उल्लेख छ ।  



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत