अर्जेन्टिनाका कप्तान लियोनल मेसी विश्वकप फुटबलको समूह चरणदेखि फाइनलसम्म गोल गर्ने एक्लो खेलाडी बनेका छन्। कतारमा भर्खरै सम्पन्न विश्वकप विजेता टोलीका कप्तान मेसी समूह चरणका तीन खेलमध्ये दुई खेलमा गोल गरेका थिए। उनले साउदी अरेबिया र मेक्सिकोविरुद्ध एक–एक गोल गरेका थिए।
यस्तै मेसीले प्रि–क्वार्टरफाइनलमा अष्ट्रेलिया, क्वार्टरफाइनलमा नेदरल्याण्ड्स र सेमिफाइनलमा क्रोएसियाविरुद्ध एक–एक गोल गरे। त्यसैगरी फाइनलमा फ्रान्सविरुद्ध दुई गोल गरेपछि मेसीले यस्तो कीर्तिमान राखेका हुन्। विश्वकप फुटबलको उपाधि जितेसँगै उनी सर्वकालीन महान् फुटबलर हुन् की होइनन् भन्ने विवाद अन्त्य भएको हो।
मेस्सीले ७ पटक फिफा वर्ष खेलाडी अवार्ड जितेपनि विश्वकप उपाधि हात नपारेकाले पेले र म्याराडोनासँग तुलना गर्न नहुने तर्क रहँदै आएको थियो। फिफा विश्वकपको आधिकारिक फेसबुक पेजमा पनि सर्वकालीन महान् खेलाडी विवाद समाधान भएको उल्लेख गरेको छ।
यसअघि राष्ट्रिय टोलीबाट उपाधि नजित्दासम्म मेस्सी र रोनाल्डोबीच को सर्वोत्कृष्ट खेलाडी भन्ने विवाद रहँदै आएको थियो। रोनाल्डोले पाँच पटक फिफा वर्ष खेलाडी अवार्ड जितेका छन् भने सन् २०१६ मा युरो कप पनि जितेका छन्। रोनाल्डो पनि सिनियर अन्तर्राष्ट्रिय फुटबल र युरोपियन च्याम्पियन्स लिगका सर्वकालीन सर्वाधिक गोलकर्ता हुन्।
३५ वर्षीय मेस्सीले यसअघि क्लब फुटबलमा ११ पटक घरेलु लिग, चारपटक च्याम्पियन्स लिग र तीनपटक फिफा क्लब विश्वकप जितेका थिए। सन् २००९ देखि २०१२ सम्म लगातार चार वर्ष उनले फिफा वर्ष फुटबलर अवार्ड जिते। उनी लगातार सर्वाधिक यो अवार्ड हात पार्ने खेलाडी हुन्। ६ पटक युरोपियन गोल्डेन बुट प्राप्त गरेका मेस्सी अर्जेन्टिनाका १४ पटकका वर्ष फुटबलर पनि हुन्।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ