त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण परिषद्ले आगामी फागुन २८ मा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने प्रस्ताव गरेको छ । शिक्षाध्यक्ष शिवलाल भुसालको अध्यक्षतामा बुधबार बसेको बैठकले विद्यार्थी संगठनसँगको परामर्शपछि निर्वाचन मितिबारे अन्तिम टुंगोमा पुग्ने निर्णय गरेको हो ।
त्रिविका ९ वटै संस्थान र संकायका डिनसँग चुनावी तयारीका विषयमा परिषद्ले छलफल गरेको थियो । विद्यार्थी भर्ना, पठनपाठन र परीक्षाको अवस्थाबारे जानकारी लिएको भुसालले जनाए ।
विद्यार्थी कल्याण परिषद्को सिफारिसमा कार्यकारी परिषद्ले स्ववियु निर्वाचनको मिति तय गर्ने त्रिवि संगठन तथा शैक्षिक प्रशासन नियममा उल्लेख छ । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले विद्यार्थीसँग परामर्श गरेपछि पुनः बैठक बसेर निर्वाचन मिति सिफारिस गरिने शिक्षाध्यक्ष भुसालले जनाए । निर्देशनालयले विद्यार्थी संगठनका प्रतिनिधिसँग छलफल गर्ने तयारी अघि बढाएको जनाएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ