बुधबार, चैत्र २५, २०८२
  • गृहपृष्‍ठ
  • राजनिति
  • वाईसियलका बिचौलिया मार्फत शिक्षामन्त्रीले झ्वाम पारे ६३ लाख : क्वार्टरमा खसी भोज !

वाईसियलका बिचौलिया मार्फत शिक्षामन्त्रीले झ्वाम पारे ६३ लाख : क्वार्टरमा खसी भोज !


कान्तिपथ


कान्तिपथ संवाददाता । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालयहरु छनोट गर्दा विचौलिया खटाएर रकम असुली गरेको प्रमाणहरु बाहिरिएको छ । संकलित प्रमाण अनुसार ठेकेदारहरुले सुदुरपश्चिम र कर्णालीका विद्यालयहरुलाई चार कोठे भवनका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत बजेट व्यवस्थापन गर्ने भन्दै पौडेलले खटाएका विचौलिया, माओवादी (केन्द्र) निकट सहायक संगठन योङ्ग कम्युनिष्ट लिग, नेपाल (वाईसियल) का केन्द्रिय सदस्य निरज शाह ठकुरीले पटक पटक पैसा उठाएका हुन् ।

‘राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६’ निर्देशक समितिको बैठकले यो कार्यक्रम चालु आर्थिक वर्ष २०७९/८० मा साउनबाट नै कार्यन्वयन गर्ने प्रस्ताव गरेको थियो । राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम अन्तर्गत भौतिक सुविधा विस्तार लगायतका कार्यक्रममा सहभागी हुने विद्यालयले स्थानीय तह मार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पेश गरेका थिए ।

भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट उक्त कार्यक्रमका लागि ३ हजार ४७५ विद्यालय छनोट भएका छन्। शाहलाई पैसा बुझाएका एक जना ठेकेदारका अनुसार शाहले चार कोठे भवन हाल्नका लागि सुरुमा १५० वटा विद्यालयको लिस्ट मागेका थिए । प्रति विद्यालय ३/४ लाख दिनु पर्ने उनको माग थियो ।

काठमाडौँमा भएका एक जना इन्जिनियर मार्फत निरजसँग डिल गरिरहेका ठेकदार मानबहादुर बोहोराले १२८ र बझाङ्गका ठेकदार गणेश खड्का र मधुसुधन खातीको समूहले १८ वटा गरि जम्मा १४६ वटा विद्यालयको सुची निरजको हातमा पुग्यो ।

सरकारले सबै स्थानीय तहलाई प्राथमिकताक्रम निर्धारण गरेर ६ वटा विद्यालयको नाम पठाउन भनेपछि निरजको हातमा परेको १४६ वटा विद्यालय मध्ये ४० वटा मात्र गाउँपालिका/नगरपालिकाको प्राथमिकताको सुचीमा परे । निरजले मन्त्री आफ्नै मान्छे हो भन्दै क्वार्टर मै खसी काटेर खाएको भिडियो पठाएर ठेकदारहरुलाई आश्वस्त पार्न खोजेको देखिन्छ । उनले ४० वटै विद्यालयमा ४/४ कोठे भवन हाल्ने भन्दै पैसाको माग गर्न थाले ।

जब राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत छनोट भएका विद्यालयको सुची सार्वजनिक भयो तब पैसा हालेका ठेकेदार तिल्मिलाए । उनीहरुले दिएको विद्यालयको सुचीका १२ वटा विद्यालय मात्र कार्यक्रमका लागि छनोट भएका थिए । छनोट भएका विद्यालय पनि आफैं अब्बल भएर छनोट भएका थिए जहाँ निरज या मन्त्री पौडेलको कुनै योगदान थिएन ।

यतिबेलासम्म निरजले मानबहादुर बोहोराबाट काठमाडौँका इन्जिनियर मार्फत ९ लाख ५० हजार नगद र ३६ लाखको चेक लिईसकेका थिए । भलै त्यो चेक अहिलेसम्म साटिएको छैन । निरज चेक बाउन्समा हाल्ने धम्की दिईरहेका छन् । आफुले भनेजति विद्यालय नपरेपछि फायर भएको ठेकदार समूहलाई कुल गराउन निरजले अझै ८२ करोड बजेट बाँकी छ त्यो सबै मन्त्रीले हाल्ने हो, टाईप गर्ने मैले नै हो भन्दै फेरि विद्यालयको नाम माग गर्न थाले ।

उनले दोश्रो लटमा ३० वटा विद्यालयलाई बजेट हाल्ने भन्दै फेरि पैसाको माग गर्न थाले । दोश्रो लटमा विद्यालयलाई बजेट पर्ने आशामा गणेश र मधुसुधनको समूहले साढे ११ लाख दिए । उक्त कुराको पुष्टि उनीहरुबीच भएको च्याटबाट पुष्टि हुन्छ । दोश्रो लटका लागि मानबहादुरले तिन पटक गरेर ६ लाख रुपैयाँ दिएका छन् । पछिल्लो चरण ३० वटा विद्यालयको नाम माग भए पनि एउटा विद्यालय पनि कार्यक्रममा परेन ।

यसरी पटक पटक गरेर राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालयहरु छनोट गर्छु भनेर पौडेलले विचौलिया मार्फत २७ लाख नगद र ३६ लाखको चेक गरि ६३ लाख लिएको देखिन्छ । एकातिर विचौलियाले पैसा खाएर बजेट नहाल्ने अर्कोतिर बजेट परेका १२ वटा विद्यालयले पनि आफ्नै कारण बजेट परेको हो भन्दै सम्झौता गर्न नमान्दा ठेकेदारहरुको बिचल्ली भएको छ भने लाखौं रुपैयाँ रकम डुबेको छ । पैसा फिर्ता माग्दा निरज चेक बाउन्समा हाल्ने धम्की दिन थालेका छन् । पैसा खानु भएछ नि भन्दै कान्तिपथले प्रश्न गर्दा शिक्षामन्त्री पौडेल वाईयात कुरा नगर्नु भन्दै तर्किन खोजे ।

निरज र पौडेलको हिमचिम निरजले चलाउने फेसबुकमा अपलोड हुने फोटोले पुष्टि हुन्छन । ३६ लाखको चेक बनाउनका लागि नाम माग्दा निरजले कुमार शाही, रकम सिंह घलान, कृष्ण शाह र दिपक शाहको नाम दिएका छन् । यो विषयमा निरजको अन्तिममा १० भएको फोन नम्बरमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

२०७४ भदौ २ गते शुक्रबार नयाँ शक्ति पार्टीले संघीय परिषद सदस्य देवेन्द्र पौडेल सहित १५ जना आफ्ना नेताहरुलाई निष्काशित गर्यो। अवसरवाद मौलाएको भन्दै पार्टीले उनीसहित वामदेव क्षेत्री, कुमार पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला शिर्पाली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहीद अन्सारी, हरि चौलागाईं, शर्मिली तामाङ, रत्न राना र रविन्द्र सुनुवारलाई कारबाही गरेको थियो।

अवसर कै लागि मन्त्री बन्न माओवादीमा आएका भनिएका पौडेल ‘स्थायी कमिटीमा मन्त्री हुन बाँकी एक्लो व्यक्ति’ भन्दै प्रचण्डलाई रिझाएर शिक्षा मन्त्री बन्न सफल भएका थिए । बाग्लुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य बनेका पौडेल २०२१ सालमा बागलुङको अमलाचौरमा जन्मिएका थिए। पौडेललाई २०७४ माघ १२ गते बाग्लुङ्गको बुर्तिबाङ्गमा आफ्नै कार्यकर्ताले पिटेको हल्ला चलेको थियो । ढोरपाटन नगरपालिका वडा नं १ मा स्थित मिराज होटलमा उनलाई उनकै कार्यकर्ता तुलसीराम अर्यालले कुटपिट गरेका थिए । स्रोतका अनुसार हालसालै बुढानिलकण्ठ क्षेत्रमा १० आना जग्गा किनेका पौडेलले बाटोको लागि दैनिक किचकिच गर्ने गरेको एक स्थानियले बताए ।

शिक्षाको एजेन्डा जोडजोडले सडकमा उठाउने पौडेल अखिल (क्रान्तिकारी)बाट विद्यार्थी राजनीति सुरू गरेर संगठनको कोषाध्यक्ष, महासचिव, उपाध्यक्ष हुँदै अध्यक्ष सम्म बनेका थिए। राजनीति शास्त्रमा स्नाकोत्तर गरेका उनी २०६८ मा बाबुराम भट्टराई उनका प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहाकार बनेर पीएको जागिर खान समेत पछि हटेका थिएनन् । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा केन्द्रीय सदस्यले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनु पर्ने प्रस्ताव गरिएको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदामाथिको समूहगत छलफलपछि निष्कर्ष प्रस्तुत गर्ने क्रममा पार्टी केन्द्रीय सदस्यले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने प्रस्ताव गरिएको थियो ।

महाधिवेशनको चौथो दिन बुधबार अध्यक्ष प्रचण्डको प्रतिवेदन र गुरुङको विधान मस्यौदामाथि भएको छलफलको समूहगत निष्कर्ष प्रस्तुत गर्ने कार्य चलिरहेको बेला गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने शिक्षामन्त्री तथा माओवादी स्थायी समिति सदस्य देवेन्द्र पौडेलकी छोरी पढाईका लागि अमेरिका उडेपछि माओवादी केन्द्रको राजनीति गर्माएको थियो। प्रचण्डको राजनीतिक प्रतिवेदनको हाईप त्यति बेला पौडेलको हर्कतले सेलाएको थियो ।

देवेन्द्र पौडेलकी छोरी गरिमा पौडेलले मेरिल्यान्डको बोवे स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर तह उत्तीर्ण गरेकी छन् । छोरीको दीक्षान्त समारोहमा सहभागी हुन नेता पौडेल र उनकी श्रीमती बलावती शर्मा केहि समय अगाडी अमेरिका पुगेका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत